विष्णुप्रसाद देवकोटा
डोल्पा, असार १५ – जल तथा मौसम विज्ञान विभागको पछिल्लो विश्लेषण अनुसार कर्णाली प्रदेशअन्तर्गत डोल्पा जिल्लामा आगामी १६ गतेसम्म भीषण वर्षाको सम्भावना रहेको छ। भारी वर्षासँगै बाढी, पहिरो, डुबान तथा नदीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ।
डोल्पालाई कर्णाली प्रदेशका अन्य जिल्ला सुर्खेत र सल्यानसँगै उच्च जोखिममा राखिएको छ। विशेषगरी पहाडी भेग, खोला र नदी किनारका बस्तीमा बसोबास गर्नेहरूलाई समयमै सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।
प्राधिकरणले डोल्पामा हुन सक्ने सम्भावित क्षतिको पूर्वतयारीस्वरूप विभिन्न निर्देशन जारी गर्दै निम्न कार्यहरूमा जोड दिएको छ:
मुख्य सुझावहरू:
अत्यावश्यक नभए अन्यत्र यात्रा नगर्नु।
मौसमसम्बन्धी सूचना र चेतावनीहरूलाई नियमित रूपमा सुनिराख्न।
बाढी प्रभावित क्षेत्रमा जनजीवन, यातायात, पर्यटन, कृषि, निर्माणलगायतका गतिविधिमा सावधानी अपनाउन।
नदी तथा खोला किनारमा गाईबस्तु चराउन, माछा मार्न तथा तर्ने कार्य नगर्न।
पहिरो तथा डुबान सम्भावित क्षेत्रमा निर्माण कार्य तत्काल स्थगित गर्न।
डोल्पा जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा समिति तथा स्वयंसेवक समूहहरूलाई पूर्ण तयारी अवस्थामा राख्न।
डोल्पामा अघिल्ला वर्षहरूमा पनि असार–साउन महिनामा बाढी तथा पहिरोबाट जनधनको क्षति भइसकेको सन्दर्भ दिँदै प्राधिकरणले यसपटक समयमै पूर्वतयारी र सतर्कता अपनाउन सबै सरोकारवालालाई अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय डोल्पा, स्थानीय तह, सुरक्षाकर्मी र सरोकारवाला निकायहरूबीच समन्वय गरी उच्च जोखिम क्षेत्रमा उद्धार र राहत तयारी थालिएको जानकारी प्राधिकरणले जनाएको छ।

डोल्पा न्यूज । १४ असार २०८२, शनिबार २२:३७