विष्णुप्रसाद देवकोटा
शे फाेक्सुण्डाे राष्ट्रिय निकुन्जले निकुञ्ज क्षेत्रमा रहेका यार्सागुम्बा युक्त पाटनमा प्रवेश गर्ने संकलकहरुवाट १ कराेड २५ लाख ८७ हजार ५०० राजश्व उठाएकाे छ ।
याे वर्ष यार्चागुम्बु टिप्न पाटन जाने ८ ओटा प्रवेश नाकामा पाेष्टहरु खडा गरेर मध्यवर्ती क्षेत्र वन ब्यवस्थापन समितिका पदाधिकारी र निकुञ्ज कर्मचारी निकुञ्ज सुरक्षार्थ खटिएकाे नेपाली सेना समेत परिचालन गरेर राजश्व उठाएकाे हाे ।
शे फाेक्सुण्डाे राष्ट्रिय निकुन्जमा पर्ने मुगुकाे डाेल्फु सेक्टर कार्यालय डाेल्पाकाे ताेइजाेम पाेष्ट, खालिवन पाेष्ट ,मुख्य कार्यालय सुलिगाड, छेप्का पाेष्ट, सम्दुवा पाेष्ट, रिग्माे पाेष्ट र धाे रेन्ज पाेष्ट गरेर ८ ओटा स्थानमा जनशक्ति परिचालन गरि यार्चागुम्बु पाटनमा प्रवेश गर्ने यार्सागुम्बा संकलकहरुवाट प्रवेश शुल्क र सेवा शुल्क बापत राजश्व उठाइएकाे शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बिश्वबाबू श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा डाेल्पाकाे निकुञ्ज क्षेत्रमा रहेका यार्सागुम्बायुक्त पाटनमा संकलनकाे लागि ७ हजार ४५९ जना यार्सा संकलकहरु प्रवेश गरेका छन ।
यार्सासंकलकहरुवाट उठाइएकाे राजश्व वापतकाे रकम निकुञ्ज वन ब्यवस्थापन जनचेतनामूलक कार्यक्रम संचालन पर्यावरण संरक्षणमा खर्चिने गरिदै आएकाे छ ।शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जले उठाएकाे याे राजश्व वापतकाे रकम विगतका वर्षहरुकाे तुलनामा पचास प्रतिसत कम हाे ।
विश्व जलवायु परिवर्तनसंगै पछिल्लाे समय यार्सागुम्बा उत्पादनमा क्रमिक रुपमा कमि आउनुका साथै यार्सागुम्बा संकलनकाे लागि आउने बाहिरी जिल्लाका मानिसहरुकाे संख्यामा समेत कमि हुदै गएपछि राजश्व उठतिमा समेत कमि हुँदै गएकाे छ ।
वर्षनी हजारौंको संख्यामा मानिसहरु यार्सागुम्बा पाटनमा पुग्ने र अब्यवस्थित रुपले जथाभावी फाेहाेर गर्ने पलाष्टिक जन्य बस्तु र शिसाहरु जथाभावी फ्याक्ने गरेकाले ब्यवस्थापनमा चुनाैति सृजित हुनुका साथै चाेरी सिकारी समेत हुने गरेकाे छ ।