डोल्पा जिल्लाका सबै यार्सागुम्बा पाटनहरू यही जेठ ५ गतेदेखि आम संकलकहरूका लागि खुला गरिने भएका छन्। जिल्लाको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णय अनुसार यो निर्णय कार्यान्वयनमा ल्याइने भएको हो।
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले पनि पाटनमा प्रवेशका लागि विशेष सर्तहरू लागू गर्ने निर्णय गरेको छ। समितिका अध्यक्ष नरबहादुर बस्नेतका अनुसार यार्सा संकलन गर्न चाहने व्यक्तिहरूले ‘क’ र ‘ख’ वर्गको पहिचान खुल्ने कागजात अनिवार्यरूपमा साथमा राख्नुपर्नेछ।
‘क’ वर्ग: निकुञ्ज क्षेत्रका स्थानीय नागरिक, प्रवेश शुल्क रू. ५००।
‘ख’ वर्ग: डोल्पा जिल्लाका अन्य नागरिक, प्रवेश शुल्क रू. २,०००।
‘ग’ वर्ग: अन्य जिल्ला बाहिरका नागरिक, कागजात नभएको अवस्थामा सोही वर्ग अनुसार शुल्क लाग्नेछ।
पाटनमा पुगेर समितिले तोकेको क्षेत्रमा मात्र पाल टाँगेर बस्न पाइनेछ। फोहोर व्यवस्थापनका लागि पनि निश्चित स्थान तोकिएको छ। प्रवेश शुल्कबाहेक, प्रत्येक संकलकले रू. ५०० सेवा शुल्क पनि तिर्नुपर्नेछ, जसको रसिद निकुञ्जमार्फत प्रमाणित गरिनेछ।
निकुञ्जको कोर क्षेत्रमा सुरक्षा व्यवस्थालाई सुदृढ पारिएको छ। चोरी नियन्त्रणमा रहेको र संकलकहरूलाई अफवाहमा नपर्न निकुञ्ज प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले आग्रह गरेका छन्। उनले भने, “हामी सम्पूर्ण स्रोत र साधन यार्सागुम्बा व्यवस्थापनमा प्रयोग गरिरहेका छौं, चुनौती भए पनि सुधार भइरहेको छ।”
बुकीसहित डोल्पाका सबै पाटनहरू एक महिनाका लागि खुला हुने छन्। चिकित्सकहरूले भने ४,००० मिटरभन्दा माथिको उचाइमा पुग्नुपर्ने भएकाले स्वास्थ्य सावधानी अपनाउन सुझाव दिएका छन्।

डोल्पा न्यूज । २४ बैशाख २०८२, बुधबार १८:०९