ताजा समाचार

रास्कोटमा शिक्षकको मदिरा मात: महिला जनप्रतिनिधिमाथि हातपात, चर्कियो आक्रोश

कालीकोट, जेठ १ गते —

कालीकोटको रास्कोट नगरपालिकामा एक शिक्षकद्वारा मदिरा सेवनपछि नगर कार्यपालिकाकी महिला सदस्यमाथि कुटपिट गरिएको घटनाले स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म आक्रोशको छाल उठाएको छ।

रास्कोट नगरपालिका–२ स्थित मोतिराम माध्यमिक विद्यालयका शिक्षक उपेन्द्र सिम्खाडाले मदिराको मातमा सोही वडाकी महिला जनप्रतिनिधि उमा योगीमाथि हातपात गरेका हुन्। प्रत्यक्षदर्शीहरूका अनुसार आपसी विवादका क्रममा सिम्खाडाले संयमता गुमाउँदै सार्वजनिक स्थानमै योगीमाथि दुर्व्यवहार गरेका थिए।

कुटपिटबाट योगीको कानमा चोट लागेको र थप उपचारका लागि उनलाई सुर्खेत लैजाने तयारी भइरहेको जानकारी नगरवासी चक्रनाथ योगीले दिए। हाल उनको अवस्था सामान्य रहेको जनाइएको छ।

उक्त घटनाले स्थानीय समाजमा स्तब्धता र आक्रोश उत्पन्न गराएको छ। विभिन्न संघसंस्थाहरू, नागरिक समाज तथा सरोकारवाला निकायहरूले उक्त व्यवहारको कडा शब्दमा भर्त्सना गरेका छन्। उनीहरूको भनाइमा, जिम्मेवार पेशामा रहेका व्यक्तिबाट यस्तो गैरजिम्मेवार र आपराधिक गतिविधि हुनु अत्यन्तै लज्जास्पद र निन्दनीय हो।

रास्कोट वडा–३ का अध्यक्ष राजेन्द्र योगीले यो घटनालाई केवल व्यक्तिगत झगडाको रूपमा हैन, सम्पूर्ण शिक्षा क्षेत्र, सार्वजनिक मर्यादा र महिला नेतृत्वमाथिको अपमानको रूपमा लिनुपर्ने बताए। “महिला जनप्रतिनिधिमाथि सार्वजनिक स्थलमा मदिराको मातमा कुटपिट हुनु गम्भीर विषय हो। दोषीमाथि कानुनी रूपमा कडा कारबाही हुनु जरुरी छ,” उनले भने।

घटनापछि ‘शिक्षकको आचरण कस्तो हुनुपर्छ’ भन्ने बहस पुनः चर्किएको छ भने सार्वजनिक पदमा रहेकाहरूको जिम्मेवारी र मर्यादामाथि पनि प्रश्न उठेको छ। साथै, यस घटनाले स्थानीय तहमा महिला जनप्रतिनिधिमाथि बढ्दो हिंसाका घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकताबारे समेत ध्यानाकर्षण गराएको छ।

तपाईको प्रतिक्रिया