ताजा समाचार

कर्णालीका सबै पालिकामा खाद्य डिपो विस्तार, रैथाने बालीको बजारीकरणमा जोड

सुर्खेत — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली प्रदेशका सबै पालिकामा खाद्य खरिद तथा बिक्री डिपो स्थापना कार्यलाई तीव्रता दिएको छ। स्थानीयस्तरमा खाद्यान्नको सहज आपूर्ति, मौज्दात व्यवस्थापन तथा रैथाने बालीको बजारीकरणलाई प्राथमिकता दिँदै कम्पनीले हालसम्म ८ जिल्लाका ३४ स्थानमा खाद्य डिपो स्थापना गरिसकेको कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतले जनाएको छ।

कार्यालय प्रमुख केशबराज बुढाका अनुसार ७९ मध्ये ४० पालिकासँग आवश्यक समझदारी (एमओयू) भइसकेको छ। स्थापना गरिएका डिपोबाट स्थानीय कृषि उपज समेत खरिद हुने व्यवस्था मिलाइएको छ।

दैलेख, हुम्ला, डोल्पा, मुगु, कालिकोट, सल्यान, रुकुम पश्चिम र जाजरकोट जिल्लाका विभिन्न पालिकामा सञ्चालित डिपोहरूबाट दाल, चामल, तेल, चिनी, नुन र पिठो लगायतका अत्यावश्यक खाद्यान्न दुर्गम क्षेत्रमा पु¥याइँदैछ। साथै, त्यहाँ उत्पादन हुने चिनो, कागुनो, सिमी, फापर, उवा र मार्सी चामल लगायत रैथाने बाली खरिद गरी सहरी बजारमा बिक्री गरिनेछ।

बुढाले यो अभियानले उत्पादन, संकलन, ढुवानी, बजारीकरण र बिक्री प्रक्रिया प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार स्थानीय उत्पादनमा बढ्दो ग्राहक आकर्षणका कारण अब हरेक पालिकाबाट कृषि उपज खरिदको योजना बनाइएको छ।

यसैबीच, कर्णाली प्रदेश सरकारले पनि खाद्यसँग सहकार्य गर्दै रैथाने उत्पादनको प्रवद्र्धनमा ध्यान दिएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव परशुराम रावतका अनुसार गत वर्ष खाद्य कम्पनीसँगको सहकार्यमा खाद्यान्न मिल स्थापना गर्ने योजना अगाडि बढाइएको छ। उत्पादनहरूलाई गुणस्तरीय प्याकेजिङ, लेबलिङ तथा ‘मूल्यवान्’ ब्रान्डमार्फत बजारमा ल्याउने तयारी भइरहेको छ।

यो पहलले स्थानीय किसानलाई प्रत्यक्ष लाभ पु¥याउनुका साथै कर्णालीको खाद्य सुरक्षामा दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया