विष्णुप्रसाद देवकोटा
डाेल्पा,फागुन २० गते ।दुनै हुदै काईके र माथिल्लो डोल्पा जोड्ने मुख्य सड्क निर्माण कम्पनीले अलपत्र अबस्थामा छाडेर सडकप्रति नै बेखवर बनेकाे छ ।निर्माण कार्य अलपत्र पारेर निर्माण कम्पनि बेखवर भएपछि काईके गाउँपालिकाले निर्माण कम्पनी र भेरी करिडोरलाई यथासिघ्र सडक निर्माण गर्न पुन ध्यानाकर्षण गराएको छ ।
दुनै ल्यासीक्याप सड्क निर्माणको लागि भेरी करिडोरले २०७८ साल चैत्र महिनामा श्री सुर्य-श्रेया शान्तीदेवी जेभीलाई निर्माणको लागि जिम्मा दिएको थियो ।
त्यस पश्चात पनि निर्माण कम्पनीले हाल सम्म निर्माण पुरा नगरेपछि काईके गाउँपालिकाले पुन ध्यानाकार्षण गराएको काईके गाउँपालिका अध्यक्ष अंगद कुमार रानाले बताए ।
अध्यक्ष रानाले भने हामीले बारम्बार ताकेता गरेका छौ भेरी करिडोर र निर्माण कम्पनीसँग तत्काल निर्माण गर्ने भनेर लिखित सहमति पनि गरेका हौ तर कार्यान्वयन भएन ।
यदि कार्यान्वयन नहुने नै हो भने तत्काल सम्झौता रद्ध गरि पुन प्रकृयामा जानपर्ने माग काईके गाउँपालिका र माथिल्लो डोल्पाको रहेको रानाको जिकिर छ ।
दुनै लासीक्याप सड्क निर्माण अलपत्र भएको कारण काईके गाउँपालिका मात्रै नभएर माथिल्लो डोल्पाका दुइृ स्थानीयतह छार्का ताङसोङ र डोल्पोबुद्ध गाउँपालिका सहित शे-फोक्सुण्डो गाउँपालिका समेत प्रभाबित बन्दै आएका छन ।
दैनिक उपभोग्य सामान र निर्माण सामाग्री ढुवानीमा समस्याका साथै नागरिकलाई सहजै यात्रा गर्न समेत कठिन भएकोले निर्माण कम्पनी र कामको जिम्मा दिने भेरी करिडोरले यस क्षेत्रका जनतालाई सास्ती दिएको काईके गाउँपालिकाका अध्यक्ष रानाको आरोप छ ।
काईके गाउँपालिकाले बारम्बार ताकेता र ध्यानाकर्षण गराउदै आएपनि कामकाे जिम्मा दिने भेरिकरिडाेर र निर्माण कम्पनीले भने अटेर गर्दै आएका छन ।