डाेल्पा,मङ्सिर १६ गते ।बालविवाह विरुद्धको साझा अभियान सन्जालका सदस्यहरुकाे लागि दुई दिने क्षमता विकास तालिम सम्पन्न भएकाे छ ।
तालिममा सहभागी सन्जाल सदस्यहरूलाई जिल्ला सञ्जाल डोल्पाका संयोजक रणबहादुर कार्की र बालविवाह विरुद्ध साझा अभियान सञ्जाल कर्णाली प्रदेशका संयोजक चेतन गिरीले सहजीकरण गरेका थिए ।
सदरमुकाम दुनैस्थित हाेटल मुरमुरमा संचालन भई सम्पन्न तालिममा संस्थागत १३ जना सदस्यकाे सहभागिता रहेकाे थियाे ।
नागरिक समाज र संजाल तथा अधिकारकर्मीको भूमिका, वकालत तथा पैरवी, बाल संरक्षण, बाल विवाहको नीतिगत व्यवस्था र वर्तमान अवस्थाका बारेमा सहजकर्ताहरुले प्रशिक्षण दिएका थिए । सामाजिक अभ्यास र व्यवहार, लैङगिकता, सामाजिक समावेशीकरण, बाल विवाह विरुद्धको साझा अभियान जिल्ला सञ्जाल डोल्पाको अवस्था, अभ्यास र भावि रणनीतिक योजनाका बारेमा समेत वृहत रुपमा समुहगत समीक्षा र छलफल गराएकाे थियाे।
यसका साथै बाल विवाह विरुद्धको साझा अभियान जिल्ला सञ्जाल डोल्पाको रणनीतिक योजनाको मस्यौदा तयार गरी सो उपर छलफल समेत गरिएकाे सहजकर्ता रणबहादुर कार्कीले जानकारी दिए ।
डाेल्पामा २०७९ असार ३१ गते स्थापना भएको बालविवाह विरुद्धको साझा अभियान सन्जालले जिल्लामा बाल विवाह विरुद्धका अभियानात्मक गतिविधिहरु सशक्त र संगठित रुपमा सञ्चालन गर्दै आइरहेकाे छ ।
हाल नमूनाको रुपमा बाल विवाह विरुद्धका अभियनात्मक गतिविधिहरु डोल्पा जिल्लाको ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिका र जगदुल्ला गाउँपालिकामा सञ्चालन भइरहेका छन् ।
बालविवाह विरुद्धको साझा अभियान जिल्ला सञ्चालन डोल्पाको प्राविधिक सहयाेगमा जगदुल्ला गाउँपालिकाले २०८५ भित्रमा बालविवाहमुक्त गाउँपालिका घोषणा गर्नेगरी तयार पारिएकाको ५ वर्षे रणनीतिक योजनाकाे मस्यौदा कार्यपालिकाबाट अन्तिम स्वीकृतीको प्रतिक्षामा छ ।