ताजा समाचार

मुसिकाेट नगरपालिका पछि हट्याे अस्थायी र करार सेवा सम्झौता रद्द गर्ने निर्णयबाट

डाेल्पान्युज डेक्स

रुकुम पश्चिम —अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत कर्मचारीहरूको नियुक्ति र करार सम्झौता रद्द गर्ने भनेर गत शुक्रबार सार्वजनिक सूचना नै जारी गरेको रुकुम पश्चिमको मुसिकोट नगरपालिका उक्त निर्णयबाट पछि हटेको छ । आज आइतबार अर्को सूचना जारी गर्दै नगरपालिकाले ‘अस्थायी र करार सेवा सम्झौता यथावत गरिएको’ भनेर जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीमार्फत जारी गरिएको सचनामा ‘गत शुक्रबार सूचना प्रकाशित गरिएकोमा हाल आएर यस विषयमा नगर कार्यपालिकाको आधिकारिक निर्णयसहित सूचना प्रकाशित गर्नुपर्ने भएकाले हाललाई अस्थायी र कारर सेवा सम्झौता यथावत रहेको’ भनिएको छ ।

गत असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकबाट ‘नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने’ भनी भएको निर्णयअनुसार अर्थ मन्त्रालयको असोज ७ गतेको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गतेको परिपत्रमा आधारित भई मुसिकोट नगरपालिकाअन्तर्गत स्वीकृत दरबन्दीबाहेकका अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य कर्माचारीको यही हिजो शनिबारदेखि लागू हुनेगरी नियुक्ति र करार सम्झौता रद्द गरिएको यसअघिको सूचनामा भनिएको थियो ।

यसपश्चात नगरपालिकाको यो निर्णयउपर विभिन्न प्रतिक्रिया आएका थिए । यस विषयमा नेकपा (माओवादी केन्द्र) मुसिकोट नगर समितिले शनिबार प्रेस विज्ञप्तिि नै जारी गरेर करार सम्झौता रद्दसम्बन्धी निर्णयप्रति आपत्तिसमेत जनाएको थियो । त्यसको भोलिपल्टै नगरपालिका अर्को सूचना जारी गरेर शुक्रबारको निर्णयबाट पछि हटेको हो ।

तपाईको प्रतिक्रिया