डाेल्पान्युज
डोल्पा । डोल्पा जिल्ला अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिस को शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। छात्रवृत्ति करारमा कार्यरत एमडिजिपी डा. विदुर तिवारीको नेतृत्वमा गरिएको शल्यक्रियाले अस्पतालको स्वास्थ्य सेवामा नयाँ अध्याय सुरु गरेको छ।
२०८२ भदौ २३ गते त्रिपुरासुन्दरी नगरपालिका–४  रंग गाउँका १२ वर्षीय किशोर बुढा पेट दुखाइको समस्यासहित आकस्मिक कक्षमा भर्ना भएका थिए। आवश्यक परीक्षणपछि एपेन्डिक्स सुन्निएको पाइएको र तुरुन्त शल्यक्रिया आवश्यक भएको निष्कर्षमा पुगेपछि बिरामीका अभिभावकसँग छलफल गरी सोही अस्पतालमै शल्यक्रिया गर्ने निर्णय गरिएको थियो।
सिमित स्रोत–साधनका बीच सम्पन्न शल्यक्रियामा डा. तिवारीलाई मेडिकल अधिकृत तथा चिकित्सा शाखा प्रमुख डा. अखण्ड उपाध्याय, स्क्रब नर्स निर्मला बि.क, एनेस्थेसिया सहायक रञ्जित शाह, सहयोगी नर्स आस्था बुढा र सहयोगी डा. नविन शाहीले साथ दिएका थिए।
शल्यक्रिया सफल भएपछि बिरामीका बुवा धनप्रसाद बुढाले खुशी व्यक्त गर्दै भने,“यदि नेपालगञ्ज वा सुर्खेत जानुपरेको भए एक लाख भन्दा बढी खर्च लाग्थ्यो। तर, जिल्लामै न्युनतम खर्चमा उपचार सम्भव भएकोमा हामी आभारी छौँ। यस्ता सेवा निरन्तर जारी रहोस् भन्ने चाहना छ।”
यसबारेमा एमडिजिपी डा. तिवारीले भने,जिल्लामा पहिलो पटक एपेन्डिसाइटिस शल्यक्रिया गर्न पाउँदा खुशी लागेको छ। सिमित स्रोतबीच पनि सहकर्मीहरूको सहकार्यकै कारण यो सम्भव भयो।”
त्यस्तै, शल्यक्रियामा सहायक बनेका डा. अखण्ड उपाध्यायले भने,पहिलो पटक एपेन्डिसाइटिस शल्यक्रिया जिल्लामै सफल भएपछि खुशी लागेको छ। केही महिना अघि यस्तै समस्या भएका एक बालकलाई सुर्खेत रिफर गर्ने क्रममा बाटोमै ज्यान गुमाउनुपरेको तीतो अनुभव भोग्नुपरेको थियो। अब भने त्यस्तो बाध्यता हटेको छ।”
डोल्पा जिल्ला अस्पतालमा भएको यो उपलब्धिले आकस्मिक स्वास्थ्य समस्यामा जिल्लाकै जनताले जीवनरक्षक उपचार पाउने अपेक्षा गरिएकाे छ ।

डोल्पा न्यूज । २९ भाद्र २०८२, आईतवार २०:४८