ताजा समाचार

डोल्पाको अन्नपूर्ण माविमा३० लाख रुपैयाँको भ्रष्टाचार :१४ जनाविरुद्ध मुद्दा

विष्णुप्रसाद देवकोटा

डोल्पा ।डोल्पाको मुड्केचुला गाउँपालिका–७ मा अवस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा ठेक्का प्रक्रियामा अनियमितता गरी करिब ३० लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विद्यालयका प्रधानाध्यापक नरदेव रोकायासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार विद्यालयको निर्माण कार्यसँग सम्बन्धित सार्वजनिक खरिद प्रक्रियामा मिलेमतो भएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको मागसहित काठमाडौंस्थित विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको हो। आयोगले २९ लाख ६० हजार ६९२ रुपैयाँ बराबरको बिगो कायम गरेको छ।

आर्थिक वर्ष २०७९/८० मा विद्यालयले इबीआइडी प्रणालीमार्फत निर्माणसम्बन्धी बोलपत्र आह्वान गरेको थियो। तर मूल्याङ्कन प्रक्रियामा सार्वजनिक खरिद ऐन, शिक्षा ऐन र सम्बन्धित नियमावलीको उल्लंघन गर्दै विद्यालयमै कार्यरत शिक्षिकाको नाममा रहेको दिग्दर्शन निर्माण सेवालाई ठेक्का दिइएको आयोगको आरोप छ।

उक्त कम्पनी मूल्याङ्कनमा चौथो स्थानमा रहे पनि ठेक्का पाएको र सबैभन्दा कम कबोल रकम (भ्याट बाहेक) ४९ लाख ८३ हजार ३९४ रुपैयाँ रहने महातारा निर्माण सेवालाई ‘साइट भिजिट नभएको’ आधारमा अयोग्य घोषित गरिएकाले प्रतिस्पर्धात्मक प्रक्रिया नै कमजोर बनाइएको देखिन्छ।

त्यसैगरी, दिग्दर्शन निर्माण सेवाले ७९ लाख ४४ हजार ८७ रुपैयाँ भुक्तानी पाएकोमा महातारा निर्माण सेवाको कबोलसँग तुलना गर्दा विद्यालयलाई २९ लाख ६० हजार ६९२ रुपैयाँ बराबरको हानी भएको आयोगले निष्कर्ष निकालेको छ।

आयोगले सार्वजनिक निकायका कर्मचारी, विद्यालय पदाधिकारी तथा ठेकेदार मिलेर जनताको सम्पत्तिमा अनियमितता गर्न नपाउने सन्देश दिन मुद्दा अघि सारिएको स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया