डाेल्पान्यूज डेक्स
डोल्पा — डोल्पा जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा पुनः प्रहरी नायव उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीलाई खटाइएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालले उनलाई पुनः डोल्पा फर्काउने निर्णय गरेको हो।
यसअघि, मुद्दा फाँटमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) शैलेन्द्रकुमार रसाइलीसँगको विवादपछि डा. केसी काठमाडौं तानिएका थिए। नौ दिनको कार्यकालमै उनले सई रसाइलीमाथि हातपात गरेको आरोप लागेको थियो। छानबिनका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको डीएसपी नारायण डाँगीको टोलीले प्रतिवेदन बुझाइसकेको छ।
गएको वैशाख १० गते डा. केसीको डोल्पा सरुवा गरिएको थियो। उनी १५ गते मात्र कार्यभार सम्हाल्न डोल्पा पुगेका थिए, तर सात दिन नपुग्दै विवादमा मुछिएपछि १६ गते नै प्रधान कार्यालय बोलाइएको थियो।
यार्चागुम्बा संकलन सिजन नजिकिँदै गर्दा मुलुककै सबैभन्दा ठूलो र भौगोलिक रूपमा जटिल जिल्ला डोल्पामा नेतृत्वविहीनताको अवस्था सिर्जना भएको थियो। जेठ ५ गतेदेखि सामुदायिक वन र राष्ट्रिय निकुञ्ज यार्चा संकलनका लागि खुल्दैछन्। विगतमा यो अवधिमा चोरी–तस्करी, बलात्कार, हत्या लगायतका गम्भीर अपराधहरू भएका छन्।
यस्तो संवेदनशील घडीमा सीमित सुरक्षाकर्मी, असुरक्षित वन क्षेत्र र सामूहिक वासस्थलबीच डोल्पा पुनः डा. केसीकै नेतृत्वमा सञ्चालन हुने भएको छ। विवादास्पद भन्दै तानिएका अधिकारीको पुनः फिर्तीले सुरक्षाको प्रश्न उठाएको छ।

डोल्पा न्यूज । १ जेष्ठ २०८२, बिहीबार ०४:४०