ताजा समाचार

हुम्ला–मुगु औपचारिक रूपमा सडक सञ्जालमा जोडिए

डाेल्पान्युज डेक्स

हुम्ला । हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नं. २ र ४ लाई जोड्ने लोती खोलामा निर्माण गरिएको बेलिब्रिजको उद्घाटनसँगै हुम्ला र मुगु जिल्ला औपचारिक रूपमा सडक सञ्जालमा जोडिएका छन्।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार लोती खोलामाथि निर्माण गरिएको ४२ मिटर लम्बाइको बेलिब्रिजको उद्घाटन गर्नुभयो। उक्त बेलिब्रिजको अधिकतम भारवहन क्षमता २० टन रहेको छ।

पूर्वाधार विकास कार्यालय हुम्लाले ठेक्का प्रक्रियाबाट निर्माण सम्पन्न गरेको उक्त बेलिब्रिजको लागत झण्डै एक करोड रुपैयाँ रहेको लेखा अधिकृत नविनकुमार शाहीले जानकारी दिनुभयो। प्रमुख नरेश जैसीका अनुसार निर्माण कार्य ठेक्का सम्झौता भएको एक वर्षभित्रै सम्पन्न गरिएको हो।

बेलिब्रिज निर्माणसँगै हुम्ला र मुगुबीचको सडक सञ्जाल औपचारिक रूपमा जोडिएको छ। चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले सडक पहुँच विस्तारसँगै स्थानीयवासीलाई दैनिक आवतजावत, व्यापार–व्यवसाय र सेवा प्रवाहमा सहजता आएको बताउनुभयो।

अब मुगुको पर्यटकीयस्थल रारा, हुम्ला र मुगु हुँदै जुम्ला जाने सडक यात्रा सहज हुने अपेक्षा गरिएको छ।

बेलिब्रिज उद्घाटन कार्यक्रममा पूर्वमुख्यमन्त्री शाहीसँगै चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल, नेकपा (एमाले) जिल्ला उपाध्यक्ष प्रकाशबहादुर शाही, नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष कुसुम शाही, रास्वपाका जिल्ला सचिव बुधे बुढालगायत स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया