ताजा समाचार

जिल्ला अदालत डोल्पामा वार्षिक कार्यसम्पादनको समीक्षात्मक अन्तरक्रिया सम्पन्न

विष्णुप्रसाद देवकोटा

डोल्पा, असार २९ गते ।जिल्ला अदालत डोल्पाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्य सम्पादन तथा न्यायिक प्रगतिका विषयमा सञ्चारकर्मीहरूसँग अन्तरक्रियात्मक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।

अदालतको विशेष कक्षमा आयोजित कार्यक्रममा जिल्ला अदालतका  दामोदर पौडेलले समग्र कार्य सम्पादनको अवस्था सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा ७९ प्रतिशत कार्य प्रगति हासिल भएको जानकारी दिए। उनका अनुसार, २०८०/८१ देखि बाँकी रहेका २९ मुद्दा र २०८१/८२ मा नयाँ दर्ता भएका ५७ मुद्दा गरी कूल ७६ मुद्दामध्ये असार २९ सम्म ५४ मुद्दा फर्छ्यौट भइसकेका छन् भने २२ मात्र बाँकी छन्।

कार्यक्रममा मिसिल व्यवस्थापन प्रणाली डिजिटल प्रविष्टिमा रुपान्तरण भइरहेको र स्क्यानिङसहित अभिलेख अपलोडको काम नियमितरूपमा भइरहेको जानकारी दिइयो। साथै, म्याद तामेली, वैतनिक कानुन व्यवसायीमार्फत सेवा र अदालतको आन्तरिक प्रशासनिक प्रक्रिया पनि प्रभावकारी रूपमा अघि बढिरहेको उल्लेख गरियो।

कार्यक्रममा दुनियावादी देवानी, फौजदारी, सरकारी फौजदारी, पुनरावेदन, थुनुवा र मुलतवी मुद्दाहरूको अवस्था, मेलमिलापमा पठाइएका मुद्दा तथा न्यायाधीशगत कार्य विवरणसमेत प्रस्तुत गरियो।

फैसला कार्यान्वयन अन्तर्गत जरिवाना, कैद, मिसिल अभिलेख व्यवस्थापनलगायत समग्र कार्यहरूको विवरण पनि सार्वजनिक गरियो।

विगतका वर्षहरूमा न्यायाधीशको अनियमित बसाइँका कारण मुद्दा फर्छ्यौटमा ढिलाइ हुँदै आएको गुनासो भइरहँदा पछिल्ला वर्षहरूमा नियमित उपस्थिति कायम राखिएकाले कार्य सम्पादन चुस्तदुरुस्त भएको र दुई वर्षभन्दा पुराना कुनै मुद्दा अदालतमा नरहेको उल्लेख गरियो।

कार्यक्रममा वैतनिक कानुन व्यवसायी पूर्ण हमाल, अदालतका विभिन्न शाखाका कर्मचारी र जिल्लास्थित सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। यस किसिमको वार्षिक समीक्षा कार्यक्रमले अदालतप्रतिको सार्वजनिक विश्वास बढाउनुका साथै न्याय प्रणालीमा पारदर्शिता र जवाफदेहिता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया