ताजा समाचार

हिमाली जिल्ला डाेल्पामा संविधान तथा राष्ट्रिय दिवस २०८२ विभिन्न कार्यक्रमसहित सम्पन्न

डाेल्पान्युज डेक्स

डोल्पा, भदौ २४ । डोल्पामा संविधान तथा राष्ट्रिय दिवस २०८२ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत प्रभातफेरी, शुभकामना आदान–प्रदान तथा जिल्ला अस्पतालमा विरामीहरूलाई फलफूल वितरण गरिएको थियो।

संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै वक्ताहरूले संघर्ष, त्याग र बलिदानमार्फत लेखिएको संविधानको मूल्य–मान्यता, आदर्श र आत्मालाई सबैले आत्मसात र अनुसरण गर्नुपर्नेमा जोड दिए।

उनीहरूले व्यवस्थापिका संसदको प्रतिनिधि सभा विघटन भए पनि संविधान २०७२ यथावत रहेको र आज नेपाल ऐतिहासिक सङ्कटको मोडमा पुगेको बताएका छन्। हाल गैरदलीय अन्तरिम चुनावी सरकार गठन भइसकेको र देशमा अन्योल, अनिश्चिता र अराजकता बढिरहेको अवस्थामा सहकार्य, समन्वय र सुझबुझका साथ सबैले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।

वक्ताहरूले व्यवस्थाको विकल्प नभई सुशासन, सामाजिक न्याय र उन्नत लोकतन्त्र नै आजको मार्ग हो भन्दै विधिको शासन, भ्रष्टाचार र गैरजिम्मेवारीपनको अन्त्यसहित निष्कपट न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाको सुदृढ उपस्थिति सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरे।

त्यसैगरी, भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनले उठाएका मुद्दा र मागहरू अन्ततः अकल्पनीय मानवीय तथा भौतिक क्षति, लुटपाट र आगजनीमा परिणत भएको प्रति चिन्ता व्यक्त गर्दै भविष्यमा आन्दोलनका नाममा नेपालीले ज्यान गुमाउनुपर्ने अवस्था कहिल्यै नआओस् भन्ने अपेक्षा राखेका थिए्।

संविधानको सर्वोच्चता कायम गर्न, कानुनी शासन लागू गर्न तथा सुशासन र सामाजिक न्याय स्थापनामा सबैको साझा प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष कार्यक्रमका सहभागीले निकालेका थिए।

संविधान तथा राष्ट्रिय दिवस २०८२ का अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरिएको छ।जिल्ला समन्य प्रमुख श्यामबहादुर राेकायाकाे अध्यक्षतामा भएकाे दिवस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भिमराज काेइराला नेपाली कांग्रेस केन्द्रीय सदस्य कर्णबहादुर बुढा नेकपा एमाले अध्यक्ष  लंक राेकाया नागरिक समाज अध्यक्ष शेरबहादुर बुढा लगायतले संविधानकाे उपादेहायता माथि प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया