पुर्ण सार्की/डोल्पा:आगामी वैशाख ११ गते देखि हुने कक्षा १२ को परीक्षा नजिकिँदै गर्दा मुलुकभरका विद्यार्थीहरू यति बेला अन्योलमा परेका छन्।राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गते देखि सञ्चालन हुने कक्षा १२ को परीक्षाको सम्पुर्ण तयारी पुरा भै सकेको जानकारी समेत दिएको छ।
यद्यपि मुलुकभरका शिक्षकहरू आफ्नो विभिन्न माग पुरा गर्न चैत्र २० गते देखि दबाब स्वरूप संघीय राजधानी काठमाण्डौमा आन्दोलनरत रहँदा पठनपाठनको प्रक्रिया सहित नयाँ भर्ना अभियान र परीक्षाको तयारीमा समेत प्रभावित भइरहेको छ।
शिक्षकहरू नयाँ शिक्षा ऐन, सरुवा, बढुवा, अनुदानको दरबन्दी लगायतका विभिन्न विषयमा सरकारसँग वार्ता अघि बढाउन माग गर्दै चैत्र देखि आन्दोलित छन्। आन्दोलनकै कारण कतिपय विद्यालयमा नियमित कक्षा सञ्चालन हुन सकेको छैन भने परिक्षा तयारी कक्षा पनि प्रभावित बनेका छन्।
शिक्षक महासंघ र शिक्षामन्त्रीसँगको एक हप्ता अगाडि भएको छलफलको क्रममा महासंघले बुझाएको २४ बुँदामध्ये सरकारले ७ वटा बुँदा मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ । यसमा पनि विश्वस्त हुन नसकिने भन्दै शिक्षकहरूले २० औं दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् र माग पूरा न भएँ सम्म आन्दोलनलाई निरन्तर जारी राख्ने शिक्षकहरुले जानकारी दिएका छन्।
यतिकैमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा समेत दिएकी छन्। शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको भए पनि निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् । राजीनामा दिनु पूर्व मन्त्री भट्टराईले प्रधानमन्त्री ओलीसँग आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्ने विषयमा छलफल गरेकी थिइन् ।
शिक्षकहरु आन्दोलनमा रहेकै बेला राष्ट्रिय परीक्षा बोर्डले भने भनेकै मितिमा परीक्षा सञ्चालन हुने भनेपछि विद्यार्थीहरु भने परीक्षा हुने की नहुने भन्ने विषयमा अझै अन्योलमै छन्।
सबै शिक्षक आन्दोलनमा केन्द्रित हुँदा विद्यालय सुनसान भएका बेला राष्ट्रिय परीक्षा बोर्डले परीक्षा हुन्छ भनी सुचना निकाल्दा विद्यार्थीको मनमा कसरी परीक्षा सञ्चालन हुन्छ भनी अनेकौं प्रश्न उब्जिएका छन्।
कोरोनाको समयअवधिमा पनि माध्यमिक शिक्षक परीक्षा( एसईई) को सुरुवाती दिनमा नै परीक्षा रद्द गरिएको थियो । एसईई परीक्षा दिन सबै विद्यार्थी आ-आफ्नो परीक्षा केन्द्रको गेट मै पुगेका बेला एकाएक परीक्षा रद्द गरिएको थियो।
शिक्षा विकास तथा समन्वय एकाई कार्यालय डोल्पाका कार्यालय प्रमुख हर्ष प्रसाद चौलागाईका अनुसार वैशाख ११ गते सञ्चालन हुने कक्षा १२ को परीक्षामा हिमाली जिल्ला डोल्पाका ०९ माध्यमिक विद्यालयका ४ वटा परीक्षा केन्द्रबाट नियमित र ग्रेडवृद्धि गरेर कुल ७३० जना परीक्षार्थीले परीक्षा दिँदै छन्।
उनका अनुसार सरस्वती मावि दुनै केन्द्रमा आदर्श मावि जुफालका नियमित तर्फ ९५, ग्रेड वृद्धि तर्फ १७ जना , अरनिको मावि शहरताराका नियमित तर्फ ३५ जना गरी कुल १४९ जनाले परीक्षा दिनेछन्।जनप्रभमा मावि लीकुमा परीक्षा केन्द्र रहेका सरस्वती मावि सुँका नियमित तर्फ २६ र ग्रेडवृद्धि तर्फ २ जना, अन्नपूर्ण मावि सर्मिका नियमित तर्फ ४९ र ग्रेडवृद्धि तर्फ१६ जना, कालिका माविका नियमित तर्फ ८१ र ग्रेडबृद्दी तर्फ २४ जना गरि कुल १९८ जनाले परीक्षा दिनेछन्।
आदर्श मावि जुफाल केन्द्र रही सरस्वती मावि दुनैका नियमित तर्फ ६१ जना र ग्रेडबृद्दि तर्फ १६ जना, जनप्रभा मावि लीकुका नियमित तर्फ १४८ र ग्रेडवृद्धि तर्फ ३१ जना गरी २५६ जनाले परीक्षा दिँदै छन्।
त्यस्तै अन्नपूर्ण मावि सर्मि केन्द्रबाट त्रिपुरा मावि काईगाउँका नियमित तर्फ ७० र ग्रेडवृद्दी तर्फ ७ जना, मालिका मावि नर्कुका नियमित तर्फ ३८ र ग्रेडवृद्दि तर्फ १४ जना गरेर कुल १२९ जनाले परीक्षा दिँदै छन्।
परीक्षा दिन आउन केही दिन बाँकी रहँदा टाढा टाढा देखि परीक्षार्थीहरु आफ्नो केन्द्र सम्म पुग्ने क्रम जारी रहेको छ। जनप्रभा मावि लीकु केन्द्र रही परीक्षा दिने अन्नपूर्ण मावि सर्मिकी दीपा सार्कीले आन्दोलनका कारण परीक्षा नहुने हल्ला सुनेको बताइन्। उनले भनिन् “परीक्षा सुरु हुन अब त केही दिन मात्रै बाँकी छ, शिक्षक आन्दोलनका कारण परीक्षा नहुने हल्ला सुनेको र परीक्षा दिन दुई दिन पैदल हिँडेर परीक्षा केन्द्रसम्म पुगेकी छु परीक्षा स्थगित भए दुःख मात्रै हुने छ “
उनी मात्रै नभई १२ को परीक्षा दिने डोल्पाका अधिकांश परीक्षार्थीको पीडा उस्तै छ। डोल्पाका विद्यालयले परीक्षाको तयारी केही नगरेको बेला राष्ट्रिय परीक्षा बोर्डले भने तयारी सबै पूरा गरेको दाबी गरेको छ।
यता शिक्षक आन्दोलनका कारण परीक्षाको विषयलाई लिएर परीक्षार्थी मात्रै नभई उनका अभिभावकहरू पनि आफ्ना छोराछोरीको भविष्यप्रति चिन्तित देखिएका छन्।हालसम्म शिक्षक आन्दोलनको समाधान हुने संकेत नदेखिए पछि मुलुकभरका विद्यार्थी, शिक्षक र अभिभावकहरू सरकारसँग तत्काल पहल र सामाधानको अपेक्षा गरिरहेका छन्।

डोल्पा न्यूज । ९ बैशाख २०८२, मंगलवार ०६:०४