ताजा समाचार

ठुलीभेरी नगरपालिका ‘पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका’ घोषणा

विष्णुप्रसाद देवकोटा 

डोल्पा, ठुलीभेरी — डोल्पाको ठुलीभेरी नगरपालिकालाई ‘पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका’ घोषणा गरिएको छ। नगरपालिका प्रमुख सुवर्ण कुमार बुढाको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायाको प्रमुख आतिथ्यतामा मंगलबार स्वास्थ्य शाखा जुफालको आयोजनामा आयोजित कार्यक्रममा औपचारिक रूपमा घोषणा गरिएको हो।

“स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत उक्त घोषणा गरिँदै बालबालिकाको स्वास्थ्य सुरक्षामा नगरपालिकाको प्रतिबद्धता दोहोर्याइएको छ।

नगरपालिकाभित्र १५ महिना मुनिका सबै बालबालिकाले नियमित रूपमा पूर्ण खोप प्राप्त गरिरहेको जनस्वास्थ्य निरीक्षक राजन कुमार डाँगीले जानकारी दिए। उनका अनुसार ११ वटा स्वास्थ्य संस्था र जिल्ला अस्पतालमार्फत हरेक घरमा पुगेर खोप लगाइएको हो। छुटिएका बालबालिकालाई पनि २३ महिनाभित्र खोप दिने कार्य निरन्तर चलिरहेको छ।

कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद रोकायाले, “घोषणा मात्र नभई खोप अभियानमा निरन्तरता दिइनेछ,” भनेका छन्। यस्तै, निमित्त स्वास्थ्य व्यवस्थापक डा. सिजन रावलले स्थानीय तहहरूसँग सहकार्य गर्दै स्वास्थ्य सेवामा सुधार ल्याउने प्रतिवद्धता जनाए।

प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख रोकायाले बालबालिका खोपबाट बञ्चित नहोस् भन्नेतर्फ विशेष जोड दिँदै भने, “स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो, यस क्षेत्रमा लगानी गर्न ढिला गर्नु हुँदैन।”

घोषणा कार्यक्रममा नगर प्रमुख सुवर्ण बुढा, उपप्रमुख छिरिङ टोल्मा महत, वडा नं. ३ का अध्यक्ष भक्त बहादुर भण्डारी, वडा नं. ९ का अध्यक्ष सुवास कठायत, आदर्श मावि जुफालका प्रधानाध्यापक बालकृष्ण डाँगी लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यस घोषणासँगै ठुलीभेरी नगरपालिका डोल्पा जिल्लामै खोप सुनिश्चितताको उदाहरणीय मोडेलको रूपमा अघि बढ्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया