सुर्खेत,वैशाख २७-कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शनिबारदेखि ‘कर्णाली छोरी सम्मेलन’ सुरु भएको छ। सामाजिक विकास मन्त्रालय र श्री ज्योति फाउन्डेसनको आयोजनामा भएको तीनदिने सम्मेलनमा कर्णालीका ७९ वटै पालिकाबाट प्रतिनिधिमूलक रूपमा छोरीहरूको सहभागिता रहेको छ।
उद्घाटन समारोहमा मुख्यमन्त्री यामलाल कडेलले कर्णालीका छोरीहरूलाई समान अवसर र शिक्षाको प्रत्याभूति गराउने प्रतिबद्धता व्यक्त गर्दै अन्धविश्वास र कुरीतिले समाजलाई पछाडि पारिरहेको उल्लेख गरे। समाजमा व्यवहारगत परिवर्तनका लागि सबैको हातेमालो आवश्यक रहेको उनले बताए।
प्रदेशसभाकी सभामुख नन्दा गुरूङ्गले सोच र शैलीमा सकारात्मक परिवर्तन ल्याउन यस्ता सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखिन्। छोरीहरूलाई आत्मरक्षा, शिक्षा, स्वास्थ्य र समान अधिकारका सवालमा गम्भीर बन्न सबै सरोकारवालालाई आग्रह गरिन्।
श्री ज्योति फाउन्डेसनकी अध्यक्ष ज्योति कटुवालका अनुसार सम्मेलनको उद्देश्य कर्णालीकी छोरीलाई सचेत, सबल, सक्षम र आत्मनिर्भर बनाउनु हो। सम्मेलनमा ‘छोरीका मनका कुरा’, प्रवचन, बहस तथा सिर्जनशील प्रस्तुति कार्यक्रमहरू सञ्चालन हुनेछन्।

डोल्पा न्यूज । २७ बैशाख २०८२, शनिबार १९:३७