विष्णुप्रसाद देवकोटा
डोल्पा, असार १६ ।आकस्मिक अवस्थाहरूमा रक्त अभावको समस्या समाधान गर्न डोल्पा जिल्ला अस्पतालले एक अभिनव पहल सुरु गरेको छ। अस्पतालमा रक्तदान गर्न इच्छुक व्यक्तिहरुको नाम, ठेगाना, सम्पर्क र रक्तसमूहसहितको विवरण संकलन गर्नका लागि Google Form को माध्यमबाट रक्तदाता सूची तयार पारिएको छ।
अबदेखि रक्त आवश्यक परेको खण्डमा बिरामीका आफन्तले आफूलाई आवश्यक रक्तसमूहको रक्तदाता छिटो र सहज रूपमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइने भएको छ। अस्पतालले आपत्कालीन समयमा रक्त संकलनको झन्झट र ढिलाइ हटाउन यो सूची निर्माणलाई प्राथमिकता दिएको जनाएको छ।
यसै क्रममा, अब डोल्पा जिल्ला अस्पतालमा रक्तदान गर्न आउने स्वयम्सेवकलाई “प्रशंसा पत्र” वितरण गरिने व्यवस्था मिलाइएको छ। सामाजिक उत्तरदायित्वप्रति समर्पित रक्तदाताको योगदानको कदरस्वरूप यस्तो सम्मानात्मक पहल थालिएको हो।
डोल्पा जिल्ला अस्पतालका चिकित्साशाखा प्रमुख तथा मेडिकल अधिकृत डा. अखण्ड उपाध्यायका अनुसार, “डोल्पा जस्तो दुर्गम जिल्लामा रक्त अभावका कारण धेरै बिरामीले ज्यान गुमाउनु नपरोस् भन्ने सोचका साथ हामीले यो सूची तयार पारेका हौं। टेक्नोलोजीको प्रयोग गरेर आवश्यक रक्त सजिलै उपलब्ध गराउने हाम्रो प्रयास हो।”
रक्तदान अभियान सञ्चालनका लागि प्रशंसा पत्रको डिजिटल डिजाइनसमेत तयार पारिएको छ। जसलाई स्थानीय रक्तदाता संस्थाहरूसँग समन्वय गरी वितरण गरिने बताइएको छ।
यस कार्यमा नायब सुब्बा धर्मराज शाहीको पनि विशेष भूमिका रहेको बताइएको छ। अस्पताल प्रशासनले रक्तदान अभियानमा थप समुदायको सहभागिता बढोस् भन्ने उद्देश्यले आगामी दिनमा विद्यालय, युवासंघ संस्था र स्वयंसेवीहरूसँग सहकार्य गर्दै जाने जनाएको छ।

डोल्पा न्यूज । १६ असार २०८२, सोमबार ११:०९