विष्णुप्रसाद देवकोटा
डाेल्पा,भदौ १४ गते डोल्पा जिल्लाको काइके गाउँपालिका–५ सिमओडारस्थित खोलाको किनारमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ। शुक्रबार दिउँसो करिब १२:३० बजेतिर खोलाको किनारमा शव देखिएको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।
इलाका प्रहरी कार्यालय छार्काबाट प्रहरी नायव निरीक्षक विष्णु चौधरीको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियाे। सो क्रममा जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक टोपेन्द्र बुढा मगरको कमाण्डसहितकाे अर्को टोली पनि घटनास्थलमा पुगेको थियो।
प्रहरीका अनुसार करिब ३८–४० वर्ष उमेरको पुरुष देखिने शव खोलाको किनारमा घोट्टो अवस्थामा भेटिएको हो। शवको पहिचान अझै खुलेको छैन।
प्रहरीले शुक्रबार दिनभरकाे प्रारम्भिक प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोल्पा पठाएको जनाएकाे छ।

डोल्पा न्यूज । १४ भाद्र २०८२, शनिबार २३:१९