ताजा समाचार

डोल्पा–तिब्बत व्यापार मेला :“नुनदेखि सुनसम्म” उपल्लो डाेल्पाबासीको सहारा

विष्णुप्रसाद देवकोटा

डोल्पा,भदौ ५ गते। समुद्र सतहदेखि पाँच हजार मिटरमाथि, हिमालको काखमा बिछिएको मायुम नाका यतिबेला उपल्लो डोल्पाबासीका लागि जीविकाको वार्षिक उत्सवस्थल बनेको छ । चीनको स्वायत्त क्षेत्र तिब्बतसँगको परम्परागत दुईदेशीय व्यापार मेला सकिन चार दिन मात्र बाँकी छ, तर बजारको भीडभाड भने घटेको छैन ।

गएको साउन २५ गतेदेखि खुलेको मेला डोल्पाबासीका लागि केवल किनबेच मात्र होइन, वर्षभरको आश्रय हो । लुगाठ, खाद्यान्नदेखि पेयपदार्थसम्म एकैपटक भण्डारण गर्नुपर्ने बाध्यता भएकाले उपल्लो गाउँबासीलाई अहिले मेलामा भ्याइनभ्याई छ।

कोभिड–१९ भन्दा अघि डोल्पाका क्याटो र मायुम दुवै नाका खुल्ने गर्थे । तर सन् २००८ मा चीनले आयोजना गरेको बेइजिङ ओलम्पिकपछि ‘अनधिकृत प्रवेश’को डर देखाउँदै सीमामा कडाइ गरेपछि व्यापार केवल मायुम नाकासम्म सीमित भएको हो ।

“भन्सार नहुँदा नेपालतर्फबाट केही पनि पठाउन नपाइने, तर उताबाट भने नुनदेखि सुनसम्म किनेर ल्याउनुपर्ने बाध्यता छ,” शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेमा वाङ्छेन भन्छन्,“हामी त आफ्नै मेहनतको पैसा अर्काको देशमा पुर्‍याउने मात्र बनेका छौं।”

व्यापार मेलामा बहुमूल्य जडिबुटी यार्सागुम्बा, ऊन, नुन, चिया, कपडा, चिनी, चामलदेखि दैनिक उपभोग्य हरेक वस्तु किनबेच हुन्छ । यो केवल बजार होइन—पुर्खाले चलाउँदै ल्याएको संस्कार हो ।

तर मेलामा सहभागिता भने डोल्पाबासीमै सीमित छ। अन्य जिल्लाका व्यापारी वा सर्वसाधारणलाई प्रवेश अनुमति छैन । अनिवार्य ‘प्रवेश पत्र’ देखाएर मात्रै आवत–जावत गर्न पाइने व्यवस्था छ, जसको प्रत्येक पटक कडाइका साथ जाँच हुन्छ।

हजारौं मिटर उचाइमा चिसो हावा, नूनका थुप्रो र यार्सागुम्बाको सुगन्ध मिसिएको यो मेला उपल्लो डोल्पाबासीका लागि आर्थिक जीवनधारा हो । तर नेपालतर्फ भन्सार नहुँदा व्यापार सन्तुलन भने सधैं चिनियाँ पक्षकै पक्षमा रहने गरेको स्थानीय बासिन्दाको गुनासो छ।भाैगाेलिक विकटता र दुर्गमताका साथै राज्यकाे दृष्टिमा सधै ओझेलमा परेकाे उपल्लाे डाेल्पा ।यहाँका वासीन्दाकाे दैनिक जीवनचर्यामा सहजता ल्याउन नेपाल चीन  सिमामा पर्ने माेरिम र क्याटाेमा नेपाली  भन्सारकाे  स्थाई ब्यवस्था गर्नु जरुरी छ ।यस तर्फ सम्बन्धित निकायकाे ध्यानाकर्षण गराउन स्थानीय सरकारका जनप्रतिनिधि  डाेल्पावाट निर्वाचित प्रदेश र संघीय सरकारका सासंद एव् विभिन्न राजनीतिक दलहरुकाे एक्यवद्धता ब्यवहारमा लागू हुन आवश्यक छ ।

तपाईको प्रतिक्रिया