ताजा समाचार

नेपथ्यको ‘कर्नालीका छाइला’ सार्वजनिक, लोकधुन टप्पामा गुञ्जियो कर्णालीको स्वर

लोक–रक ब्यान्ड नेपथ्यले लामो समयदेखि खोज गरिएको र कर्णालीको सांस्कृतिक आत्मा बोकेको गीत ‘कर्नालीका छाइला’ सार्वजनिक गरेको छ। टप्पा भाकामा आधारित यस गीतमा गायक अमृत गुरुङको स्वर र कर्णाली क्षेत्रको लोकधुनको गहिरो प्रभाव सुनिन्छ।

२० वर्षअघि भेटिएको धुनलाई नयाँ रूप यो गीतको मुखडा सन् २००१ मै डोल्पाबाट आएका अङ्गद हमाल र सङ्कलक लक्ष्मीकान्त उपाध्यायबाट अमृत गुरुङले सुनेका थिए। सन् २००८ मा पहिलोपटक रेकर्ड गरे पनि आत्मसन्तुष्टि नपाएर थन्क्याएको उनले स्मरण गरे।

स्थानीयता र मौलिकताको मिश्रण सल्यान र आसपासका क्षेत्रमा प्रचलित टप्पा भाकालाई केन्द्रमा राखेर गीत तयार पारिएको हो। अमृतका अनुसार, गाउँका सांगीतिक बैठक र जनजीब्रोका पंक्तिहरू समेट्दै मौलिक शैलीमा गीतलाई पुनः सिर्जना गरिएको हो।

भूषण दाहालको निर्देशनमा म्युजिक भिडियो गीतको म्युजिक भिडियो निर्देशक भूषण दाहालले तयार पारेका छन्। नेपालयले निर्माण व्यवस्थापन गरेको भिडियो केही दिन सशुल्क हेर्न सकिनेछ—नेपालमा रु १० र विदेशमा १ डलर तिरेर। सात दिनपछि भिडियो युट्युबमा निःशुल्क सार्वजनिक गरिनेछ।

स्वेच्छिक योगदानलाई प्रोत्साहन नेपथ्यका सिर्जनामा साथ दिन चाहने दर्शकलाई लक्षित गर्दै स्वेच्छिक रूपमा बढी तिर्ने व्यवस्था समेत गरिएको नेपालयका किरणकृष्ण श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया