ताजा समाचार

डाेल्पामा अत्यावश्यक बाहेक सवारी आवागमनमा निषेध, प्रशासनकाे कडा निर्णय

विष्णुप्रसाद देवकोटा 

डाेल्पा — लगातारकाे वर्षापछि डोल्पा जिल्लाभित्र विभिन्न गाउँहरूमार्फत बग्ने खोलानालामा पानीको बहाव तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय डोल्पाले सवारी आवागमनमा आंशिक निषेध लगाउने निर्णय गरेको छ। शुक्रबार साँझ प्रकाशित सूचना अनुसार, अत्यावश्यक सवारीसाधनबाहेक अन्य सबै प्रकारका सवारीसाधनको आवतजावतमा रोक लगाइएको हो।

डोल्पाका विभिन्न ग्रामीण सडक खण्डहरू अवरुद्ध हुने, खोलानाला पार गर्न जोखिम हुने, तथा पूर्वानुमान अनुसार अझै केही दिन वर्षा जारी रहने भएकाले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको जनाइएको छ। विशेषगरी सुलिगाड नदी आसपासका क्षेत्रहरूमा अत्यधिक वर्षा र बहाव देखिएको उल्लेख गर्दै, खोलापारीका गाउँहरूमा जाने यात्रुहरूलाई विशेष सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी दामोदर  ज्ञावालीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “सवारी साधनको रात्री समयमा सञ्चालन पूर्णरूपमा जोखिमयुक्त रहने भएकाले उक्त समयको यात्रा नगर्न, आवश्यक परेको खण्डमा नजिकको सुरक्षासङ्गठन वा प्रशासनसँग समन्वय गर्न अनुरोध गरिन्छ।”

प्रशासनले अत्यावश्यक सेवामा संलग्न एम्बुलेन्स, सुरक्षासम्बन्धी सवारीसाधन तथा उद्धार कार्यमा खटिने सवारीहरू भने यस निर्णयबाट अलग राखेको छ। साथै, डोल्पामा प्रवेश गर्ने वा बाहिर जाने सबै प्रकारका यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन सचेत रहन अनुरोध गरिएको छ।

डाेल्पा प्रशासनकाे याे निर्णय हालको मौसमी आपत्‌कालीन अवस्था र सर्वसाधारणको ज्यान तथा सम्पत्तिको सुरक्षालाई ध्यानमा राखी गरिएको हो।

तपाईको प्रतिक्रिया