ताजा समाचार

डोल्पा–तिब्बत दुईदेशीय व्यापार मेला सुरु,प्रवेशमा कडाई

विष्णुप्रसाद देवकोटा

डाेल्पा,साउन २९ गते ।डोल्पा जिल्ला र चीनको जनगणतन्त्रअन्तर्गतको स्वायत्त क्षेत्र तिब्बतबीचको परम्परागत दुईदेशीय व्यापार मेला यस वर्ष साउन २५ गतेदेखि सुरु भएको छ। शताब्दीयौँ पुरानो सांस्कृतिक तथा व्यापारिक परम्पराको निरन्तरतामा आयोजना गरिएको यो मेला, शे–फोक्सुण्डो गाउँपालिका र सिगात्चे काउन्टीको डोङबा प्रान्तबीचको औपचारिक छलफल र सहमतिपछि तय भएको हो।

शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङका अनुसार, गत वर्षझैँ यसपटक पनि मेला १५ दिनका लागि मात्र सञ्चालन हुनेछ। अघिल्ला वर्षमा डोल्पाका क्याटो र मार्युम दुवै नाका खुल्ने गरे पनि, कोभिड–१९ महामारीपश्चात् गत वर्षदेखि मार्युम नाका मात्र खुल्ने गरिएको छ।

मेलामा डोल्पाका स्थानीयबाहेक अन्य जिल्लाका व्यापारी तथा सर्वसाधारणलाई प्रवेश अनुमति छैन। प्रवेशका लागि अनिवार्य ‘प्रवेश पत्र’को व्यवस्था गरिएको छ, जसको हरेक आवत–जावतमा जाँच हुनेछ।

उपाध्यक्ष वाङछेनले  सीमास्तरमा आवश्यक सुरक्षा, भन्सार र प्रवेशद्वार व्यवस्थासहित मेला कम्तीमा पाँच–छ महिना सञ्चालन गर्न सकिएको भए, डोल्पाका अन्न–बाली, जडीबुटी, पशु–उत्पाद र हस्तकला चिनियाँ बजारमा निर्यात गरी स्थानीय अर्थतन्त्रलाई थप सुदृढ बनाउन सकिने बताए।

माथिल्लो डोल्पाका विशेष गरी डोल्पो बुद्ध गाउँपालिका ४, ५, ६ र शे–फोक्सुण्डो गाउँपालिका–१ देखि ७ वडासम्मका समुदाय अझै पनि भेडा–बाख्रा र चौँरीपालनमा आश्रित छन्। सन् २००८ सम्म यहाँका धेरै परिवारका सदस्य तिब्बत रोजगारीका लागि जाने गर्थे, जहाँ ‘नोमाड–डोक्पा’ समुदायसँग कामको बदलामा चौँरी वा भेडा–बाख्रा ज्यालाका रूपमा पाउने चलन थियो।

यो वर्षको मेलाका लागि जिल्ला प्रशासन कार्यालयले २,५६५ प्रवेश पास जारी गरेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए। मेलाबाट उपल्लो डोल्पावासीले नुन, तेल, लत्ता–कपडा, मोटरसाइकल लगायतका सवारीसाधन र वर्षभरिका दैनिक उपभोग्य वस्तु खरिद गर्ने गर्छन्। बहुमूल्य जडीबुटी यार्सागुम्बाको खरिद–बिक्री पनि यही मेलामा हुने परम्परा छ।

तपाईको प्रतिक्रिया