विष्णुप्रसाद देवकोटा 
डोल्पा । नेपालका प्रखर कम्युनिस्ट विचारक तथा नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवस डोल्पामा पनि जनस्तरबाट श्रद्धाञ्जलीसहित स्मरण गरिएको छ।
कार्यक्रममा सहभागीहरूले पुष्पलालको विचार, सिद्धान्त र समाजवादी मार्गदर्शन अझै पनि सान्दर्भिक रहेको उल्लेख गर्दै, ती विचारलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन्।
नेकपा केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख हंशबहादुर शाहीले पुष्पलालले देखाएको बाटो समाजवाद, समावेशिता र जनअधिकारको संरक्षणमा आधारित रहेको बताए। उनले पुष्पलाल प्रतिष्ठानलाई सबैको साझा सम्पत्ति बताउँदै निरन्तर काम गर्नुपर्ने धारणा राखे।नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीकाे पाटी कार्यालयमा स्मृति कार्यक्रम गरिएकाे हाे ।
नेकपा एकीकृत समाजवादीका प्रवक्ता राचन्द्र रोकायाले कम्युनिस्टहरू आचरणमा उदाहरणीय हुनुपर्नेमा जोड दिए। उनले भने, “मार्क्सवाद होस् वा लेनिनवाद, सबै कम्युनिस्ट साझा विचार र अनुशासनका अनुयायी हुन्। पुष्पलालको बाटो आज पनि अनुकरणीय छ।”
जिल्ला प्रतिष्ठान अध्यक्ष हरिप्रसाद डांगीले एमाले–कांग्रेस गठबन्धन सरकारलाई जनआन्दोलनको प्रतिफल भन्दै, समाजवादी मूल्यको संस्थापनमा पुष्पलालको दर्शन प्रेरणादायी रहेको बताए।
कार्यक्रममा प्रतिष्ठानको भवन अलपत्र रहेको र यसबारे अख्तियारमा उजुरी परेकाले पुनः सक्रिय बनाउनु पर्नेमा सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइएको उल्लेख गरिएको छ।
कार्यक्रम संचालन गरेका बबिकिशोर गुरुङले पुष्पलालको योगदानलाई केवल विगतको सम्झना नभई भविष्यको मार्गदर्शनका रूपमा लिनुपर्ने बताए।

डोल्पा न्यूज । ७ श्रावण २०८२, बुधबार १५:३४