ताजा समाचार

ऋतम्भरा मिडिया(डोल्पान्यूज डटकम)काे प्रथम बार्षिकाेत्सव,६ जना सम्मानित

डाेल्पान्यूज डेक्स

डाेल्पा,पुस १६ गते ।

ऋतम्भरा मिडिया प्रा.लि. (डोल्पान्यूज डटकम) ले आफ्नो पहिलो वार्षिकोत्सव सम्पन्न गरेको छ।

स्वच्छ, सत्य, तथ्य, निष्पक्ष, मर्यादित र सशक्त मिडियाको रूपमा समाजमा भएका रचनात्मक तथा सकारात्मक र नकारात्मक दुबै पक्षलाई जनतासामु उजागर गरी समाज रूपान्तरणको अभियानमा अग्रणी भूमिका खेल्ने उद्देश्यले स्थापित यस मिडियाले पहिलो वर्ष पार गरी दोस्रो वर्षमा प्रवेश गरेको छ।

वार्षिकोत्सवको अवसरमा विभिन्न विधागत क्षेत्रमा कार्यरत चार जना राष्ट्रसेवक कर्मचारी, एक जना सञ्चारकर्मी र एक जना सामाजिक अभियन्तासहित छ जनालाई विशेष कार्यक्रमबीच सम्मान गरिएको छ।

सम्मानित व्यक्तिहरूमा महिला सशक्तीकरण केन्द्र डोल्पाका कार्यकारी निर्देशक तथा गैसस महासंघ कर्णाली प्रदेशका सचिव रणबहादुर कार्की, अन्नपूर्ण पोस्ट दैनिकका डोल्पास्थित संवाददाता रामचन्द्र न्यौपाने, सामाजिक विकास कार्यालयका लेखा अधिकृत राजकुमार केसी, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका लेखा अधिकृत हस्तबहादुर बुढा, काइके गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्झना पराजुली र त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठ रहेका छन्।

सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकाया र विशेष अतिथि नेपाली कांग्रेसका कार्यवाहक सभापति लवकुमार शाहीले अविर, टीका र खादा लगाई सम्मानपत्र हस्तान्तरण गरेका थिए।

प्रमुख अतिथि रोकायाले जिल्लाका दिग्गज व्यक्तित्व, सामाजिक अभियन्ता, सञ्चारकर्मी सहित राष्ट्रसेवक कर्मचारीको सेवा प्रवाह र भूमिकाको उच्च मूल्यांकन गर्दै मिडियाले सम्मान गर्नु समाजका लागि राम्रो कार्य भएको बताए।

उनले जिल्लामा पछिल्लो समय धेरै पत्रकार र सञ्चार गृहको स्थापना भए पनि धेरै कुरा बाहिर आउन नसकेको उल्लेख गर्दै स्वतन्त्र, निर्भीक र व्यावसायिक पत्रकारिताको आवश्यकता औंल्याए।

साथै, जिल्लास्तित कार्यालय प्रमुख, राजनीतिक दल र नागरिक समाजले स्थानीय सञ्चारकर्मी र सञ्चार गृहलाई सकारात्मक सहयोग पुर्याउन आवश्यक रहेको र सञ्चार गृह तथा सञ्चारकर्मीको विकासका लागि आफ्नो सधैं सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

सम्मानित व्यक्तित्व तथा गैसस महासंघ कर्णाली प्रदेश सचिव रणबहादुर कार्कीले सम्मानित हुँदा आफू हर्षविभोर भएको र आगामी सामाजिक कार्यहरूमा थप दत्तचित्त र परिणाममुखी तरिकाले लाग्न प्रेरणा, हौसला, उत्साह र आँट प्राप्त भएको बताए।

उनले समाजमा पुर्याएको योगदानको कदरस्वरूप अग्रज तथा अनुयायी व्यक्तित्वहरूको समक्षमा सम्मान ग्रहण गर्ने अवसरका लागि ऋतम्भरा मिडिया प्रा.लि. परिवारप्रति विशेष आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर हौसला, प्रेरणा र मायाममता पाउने आशा व्यक्त गरे।

साथै, सम्मानले आफूलाई थप सुधारिएको, सुदृढ, सुझबुझपूर्ण र उच्च मनोबलका साथ समाजका विविध आयामहरूमा संलग्न रही सामाजिक समानता, सुशासन र उन्नत समाज निर्माणमा इमान्दार र कर्तव्यनिष्ठ तरिकाले सामाजिक अभियानमा सामेल हुने प्रतिबद्धता व्यक्त गरे।

ऋतम्भरा मिडिया प्रा.लि. (डोल्पान्यूज डटकम) का अध्यक्ष तथा सम्पादक विष्णुप्रसाद देवकोटाले जिल्लामा मिडिया हाउस स्थापना गरेर निरन्तरता दिन ठूलो चुनौती रहेको बताए।देवकोटाले स्वच्छ, निष्पक्ष, मर्यादित र सशक्त मिडियाको रूपमा अघि बढ्नु वर्तमान समयको आवश्यकता रहेको बताए।

उनले मिडियाप्रति समाजको दृष्टिकोणमा सुधार आवश्यक रहेको उल्लेख गर्दै, आफ्नो मिडियाको प्रथम वार्षिकोत्सवको अवसरमा सम्मान गर्न पाउँदा खुशी लागेको बताए।

अध्यक्ष देवकोटाले आगामी दिनहरूमा समाजका अग्रणी राजनीतिक दलका प्रमुख, विभिन्न कार्यालयका प्रमुख, नागरिक समाज र सामाजिक अभियन्ताहरूको सकारात्मक र रचनात्मक सहयोग, समन्वय र सुझावले मिडियालाई सशक्त बनाउन मद्दत पुग्ने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख, नागरिक समाजका सदस्यहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

तपाइको प्रतिक्रिया

error: Content is protected !!