दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि नेतृ प्रियाकुमारी राई एमालेमा प्रवेश गरेकी छिन् ।
शनिबार झापा एमालेले दमकमा आयोजना गरेको जागरणसभामा नेतृ राई एमालेमा प्रवेश गरेकी हुन् । उनलाई एमलोका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टीमा स्वागत गरेका छन् ।
नेतृ राई उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा रास्वपाकी सचिव थिइन् । उनी भूपु सैनिक आवासीय माविकी प्रिन्सिपलसमेत हुन् ।
रास्वपाका सभापति रवि लामिछाने संगठित अपराध र सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएको केही दिनभित्रै नेतृ राईले रास्वपा परित्याग गरेर एमालेमा प्रवेश गरेकी छिन् ।
यसैबीच, प्रधानमन्त्री ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताएका छन् ।
ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउँन खोजे झैँ ढुंगा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्याए पनि उनीहरूलाई जनताले नपत्याएको बताए ।
उनले भने, ‘देश अब कानून र विधि अनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैँक डुबाउनेहरू, आगजनी गर्नेहरु रक्सीका बोतल लुटेर भाग्नेहरूले जनताले फ्ँयाकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन ।’
‘ठूला कुरा गर्ने र हल्ला गर्नेहरुले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरूको अशली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनबाट देखिइसकेको छ’, ओलीले भने ।
‘विगमा म प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेका थिए’, उनले भने, ‘अदालतको समेत प्रयोग गरेर हामीलाई सरकारबाट बाहिर पठाए । तर, जनताको अभिमतबाट हामी पुनः सरकारको नेतृत्वमा आएका छौँ ।’
‘अब हामीले स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेका छौँ । तपाईंहरू अस्थिरतावादीहरूको कुनै भ्रममा पर्नु पर्दैन’, प्रधानमन्त्री ओलीले भने ।