पुर्ण कुमार/ डोल्पा न्युज
भदौ ०८ , डोल्पा।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजाअनुसार डोल्पाका आठ स्थानीय तहमध्ये काइके गाउँपालिका अब्बल सावित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन अनुसार काइके अब्बल सावित भएको हो ।
प्रतिवेदनअनुसार काइकेले जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकामध्ये उच्चतम ८३.२५ अंक प्राप्त गरेको छ । काइके पछि पछि दोस्रो स्थान हासिल गरेको शे-फोक्सुण्डो गाउँपालिकाले ८१.७५ अंक प्राप्त गरेको छ । तेस्रो नम्बरमा रहेको त्रिपुरासुन्दरी नगरपालिकाले ७९.७५ र चौथो स्थानमा रहेको मुड्केचुला गाउँपालिकाले ७९.५० अंक र पाँचौं स्थानमा रहेको जगदुल्ला गाउँपालिकाले ७८.५०अंक प्राप्त गरेको छ ।
डोल्पोबुद्ध गाउँपालिका ६९.७५ अंङ्क सहित छैटौ,छार्का ताङसोङ गाउँपालिका ६४.५० अंङ्क सहित सातौ र ठुलीभेरी नगरपालिका ५९.०० अंङ्क अन्तिम आठौँमा रहेको छ ।
ठुली भेरीको अन्य पालिकाको तुलनामा अत्यन्तै खराब नतिजा हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँ तथा नगरपालिकाको कार्यप्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृयालाई आधार मान्दछ । यस्तै विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने अंक नतिजाका निर्धारक हुन् ।
उल्लेखित विषयमा स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्वमूल्याङ्कनको प्रणाली कार्यान्वयनमा ल्याइएको जनाएको छ । स्थानीय तहको संस्थागत स्वमूल्यांकन आर्थिक वर्ष २०७६–०७७ बाट सुरु गरिएको हो । तर, मन्त्रालयले पहिलो पटक गुणस्तर परीक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।