ताजा समाचार

डोल्पाकाे भूमिमा ‘बालापनै रमाइलो’ र ‘कोरिबाटी चुल्ठी’ को छायांकन सुरु”

विष्णुप्रसाद देवकोटा 

डोल्पा। नेपालको हिमाली जिल्ला डोल्पाको ऐतिहासिक तथा धार्मिक दृष्टिले अति महत्वपूर्ण स्थल त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजा–आर्जापछि दुई नयाँ गीतको भिडियो छायांकन औपचारिक रूपमा सुरु गरिएको छ। “बालापनै रमाइलो” र “कोरिबाटी चुल्ठी” शीर्षकमा बन्न लागेको ती गीतहरूको छायांकनले डोल्पाको सांगीतिक र सांस्कृतिक क्षेत्रलाई थप नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

दुवै गीतका रचनाकार तथा निर्देशक लक्ष्मण देबकोटा हुन्, जसले यसपटक निर्देशनको नयाँ यात्रामा पाइला चालेका छन्। ‘रेलको बाटो’, ‘नुनको भारी’, ‘रातो किताब’ जस्ता चर्चित गीतहरूमा अभिनयमार्फत दर्शकको मन जितिसकेका देबकोटाको यो पहिलो निर्देशन हो।

बालापनको मिठास बोकेको “बालापनै रमाइलो”

लोक र आधुनिक शैलीको मिठो संगम झल्काउने “बालापनै रमाइलो” गीतमा स्वर सुरज पण्डित र उषा गजुरेलको रहेको छ। यस गीतको संगीत स्वयं लक्ष्मण देबकोटाले तयार गरेका हुन्। बाल्यकालको झल्को दिने भावनात्मक र रमाइलो सम्वाद बोकेको यस गीतमा देबकोटा स्वयं र कलाकार अन्जु अधिकारी मुख्य भूमिकामा देखिनेछन्। साथमा डोल्पाका स्थानीय कलाकारहरूको समेत सशक्त उपस्थिति रहने बताइएको छ, जसले गीतलाई अझ जीवन्त र मौलिक बनाउनेछ।

तीजको रौनकसहित “कोरिबाटी चुल्ठी”

महिला पर्व तीज लक्षित गरेर तयार पारिएको अर्को गीत “कोरिबाटी चुल्ठी” मा शब्द देबकोटाकै रहे पनि संगीत अन्जु अधिकारीले कम्पोज गरेकी छन् भने स्वर लोकप्रिय गायिका अन्जु पन्तले दिएकी छिन्। यस गीतको भिडियोमा मुख्य अभिनेत्रीका रूपमा अन्जु अधिकारीलाई देख्न सकिनेछ। तीजको सांस्कृतिक भावना, महिलाको सौन्दर्य र संघर्षको मिश्रण प्रस्तुत गर्ने आशयमा तयार पारिएको गीतले तीज पर्वमा विशेष चर्चा पाउने अनुमान गरिएको छ।

डोल्पाको प्रवर्द्धनमा योगदान

भिडियो छायांकन डोल्पाको भौगोलिक, धार्मिक तथा सांस्कृतिक पहिचानलाई उजागर गर्न सहयोगी हुने विश्वास गरिएको छ। त्रिपुरासुन्दरी मन्दिर परिसर, डोल्पाली पहिरन, र स्थानीय जीवनशैलीको प्रस्तुतीकरण मार्फत पर्यटन र सांस्कृतिक चेतनालाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

निर्देशक देबकोटाले भने, “डोल्पा मेरो जन्मथलो मात्र होइन,प्रेरणाकाे  स्रोत पनि हो। यतिबेला यतैबाट निर्देशन यात्रा सुरु गर्न पाउनु गर्वको कुरा हो।”

गीतहरूको छायांकन क्रमशः डोल्पाका विभिन्न प्राकृतिक र सांस्कृतिक स्थलहरूमा गरिने योजना रहेको छ। भिडियोहरू चाँडै डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया