ताजा समाचार

जिल्ला अस्पताल डोल्पामा दुई दिने निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न

विष्णुप्रसाद देवकोटा 

डोल्पा ।हिमाली जिल्ला डोल्पामा महिलाहरूको स्वास्थ्य अधिकारलाई प्राथमिकता दिँदै सम्पन्न भएको दुई दिने निःशुल्क महिला स्वास्थ्य शिविरले २४३ जना महिलालाई प्रत्यक्ष लाभ पुर्‍याएको छ। ठुलीभेरी नगरपालिका डोल्पाको आर्थिक सहयोगमा, स्वास्थ्य सरोकार ट्रस्ट  बागबजार काठमाडौं  तथा जिल्ला अस्पताल डोल्पाको संयुक्त आयोजनामा सम्पन्न भएको शिविरले स्थानीय महिलाहरूको दीर्घकालीन स्वास्थ्य समस्यामा राहत दिएको छ।

स्वास्थ्य शिविरमा स्त्रीरोग, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर जस्ता रोगहरूको परीक्षणसहित भिडियो एक्सरे सेवा पनि प्रदान गरिएको थियो। शिविरमार्फत ६० जना महिलाले भिडियो एक्सरे सेवा निःशुल्क प्राप्त गरे भने अन्य सेवाहरूमा ५० प्रतिशत छुट दिइएको अस्पतालका चिकित्सा शाखा प्रमुख डा. अखण्ड उपाध्यायले जानकारी दिनुभयो।

स्वास्थ्य सरोकार ट्रस्ट नेपाल (phect Nepal) की संयाेजक रिङ्कु श्रेष्ठको नेतृत्वमा काठमाडौंबाट डोल्पा आएको चिकित्सक टोलीले दुई दिनसम्म महिलाहरूको स्वास्थ्य परीक्षण गर्‍यो। विभिन्न विषयका विशेषज्ञहरूले स्थानीय परिवेश, भौगोलिक कठिनाइ र स्वास्थ्य पहुँचको सीमालाई ध्यानमा राख्दै प्रत्येक महिलासँग व्यक्तिगतरूपमा स्वास्थ्य परामर्श गरेका थिए।

साक्षात्कारः स्थानमै स्वास्थ्य सेवा, महिलाहरूको राहत

ठुलीभेरी–३ दुनैकी ६० वर्षीया दुधकुमारी हमाल, जो लामो समयदेखि पेटको समस्याले ग्रस्त थिइन्, शिविरमा स्वास्थ्य परीक्षण गराएपछि भावुक भइन्। “अब सानो रोगको लागि नेपालगन्ज झर्नुपर्दैन जस्तो लाग्यो,” उहाँले भनिन्, “घरआँगनमै सम्पूर्ण स्वास्थ्य परिक्षण गराउन पाउँदा अत्यन्तै राहत महसुस भयो। महिलाहरूको लागि यस्ता शिविर अझै नियमित हुनुपर्छ।”

यस शिविरले डोल्पाका दुर्गम वस्तीका महिलाहरूमा स्वास्थ्य सचेतना बढाउनुका साथै, स्त्रीरोग र क्यान्सरजस्ता संवेदनशील विषयमा जानकारी र परामर्श दिन सक्नु महत्वपूर्ण उपलब्धि मानिएको छ।

डोल्पा जस्तो दुर्गम जिल्लामा यसप्रकारका निःशुल्क शिविरहरूले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने निश्चित छ। स्थानीय निकाय र संघसंस्थाको सहकार्यमा यस्ता प्रयासलाई निरन्तरता दिँदै स्वास्थ्य पहुँच अझ सुलभ बनाइने जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर शाहीले बताए ।

तपाईको प्रतिक्रिया