डा.आविष्कार  धराला
बुझ्ने भएपछि मात्र थाहा पाएँ,हजुर मेरो पढाइको सुरुवातदेखि नै स्कुलको प्रधानाध्यापक हुनुहुन्थ्यो।“सरकारी शिक्षकका छोराछोरीले सरकारी स्कुलमै पढ्नुपर्छ” भन्ने दृढ विश्वासले हजुरले हामीलाई आफ्नै गाउँको स्कुलमा, कक्षा १ देखि १० सम्म, पढाउनु भयो।भिमबहादुर धराला मेराे बुबा,गुरु हजुरले चाहनु भएकाे भए भए नेपालका जुनसुकै कुनाको निजी विद्यालयमा सजिलै पढाउन सकिन्थ्यो। तर हजुरको सोच फरक थियो ।गाउँमै गुणस्तरीय शिक्षा सम्भव छ भन्ने प्रमाण दिनु।
हजुर डोल्पा जिल्लाका अब्बल शिक्षाविद् हुनुहुन्छ। स्रोत व्यक्ति भएर विभिन्न विद्यालयमा महत्वपूर्ण योगदान दिनुभयो। नगरमा शिक्षा शाखा प्रमुख रहँदा अमूल्य काम गर्नुभयो। प्रावि र मावि स्तरमा मात्र नभई, जिल्लाकै पहिलो र एकमात्र कक्षा ११ र १२ मा विज्ञान पढाइ सुरु हुने विद्यालय निर्माणमा दिनरात खटिनुभयो। आफ्नो तलबबाट अन्य शिक्षकको तलब सम्म पुर्ति गर्नुभयो।विज्ञान विषय डोल्पामै हुनुपर्छ भनेर दरबन्दीका लागि काठमाडौंका गल्ली–गल्ली पैदल धाउनु भयो।
हजुरको धेरैजसो समय स्कुलकै लागि बित्थ्यो। कहिलेकाहीँ घरको एउटा कोठा नै स्कुलको अफिस हो कि जस्तो लाग्थ्यो। त्यो अफिसजस्तो कोठामा चिया वा खाना खान बोलाउँदा पनि“काम सकियोस्, अनि खान्छु” भन्ने हजुरको स्वर अझै कानमा गुञ्जिन्छ। हामी कहिले काँही रिसाउँथ्यौं, “जहिले स्कुल, सधै अरुको काम!” तर बुझ्ने भएपछि मात्र थाहा भयो— त्यो अरुको होइन, भविष्य निर्माणको काम रहेछ।
हजुरले यो योगदानको मूल्यांकन गर्ने शक्ति जिल्ला र नगरले गरेको छ कि छैन ,थाहा छैन। तर एउटा कुरा निश्चित छ। त्रिपुरासुन्दरी नगरपालिका वडा ३ र ४ का लागि हजुरको योगदान अतुलनीय छ। जब यातायातको साधन त टाढाको कुरा, पैदल बाटोसमेत दुर्गम थियो, त्यो बेलामा पनि किसानको छोरा पढ्नुपर्छ भनेर हप्तौँको यात्रा पार गर्दै पोखरा पुगेर पढाइ पूरा गर्नुभएको कथा प्रेरणादायी छ।
देश बन्न शिक्षा र स्वास्थ्य आधारस्तम्भ हुन्। शिक्षा क्षेत्रमा हजुरले जीवनको ठूलो भाग अर्पण गर्नुभयो। स्वास्थ्य क्षेत्रको कमजोर अवस्थाले चिन्ता गर्दा “छोरा, तिमी डाक्टर बन्नुपर्छ” भनेर आफ्नै खर्चमा मलाई डाक्टर बनाउनु भयो।यो साहस, यो आट सबैसँग हुँदैन।
एक बुवा र गुरु भएर हजुरले सिकाउनुभएको इमानदारिता, अनुशासन, मेहनत, लगनशीलता र मानव भएर जन्मिसकेपछि निभाउनु पर्ने कर्तव्यको मन्त्र , यो मेरो जीवनको दिशानिर्देशक बनेको छ।
साविककाे सुं गाबिसको त्यो समयदेखि अहिलेसम्म, डोल्पाको शिक्षाक्षेत्रमा हजुरजस्तै अब्बल र निष्ठावान् व्यक्तित्व देखिएको छैन। आज हजुर सेवा निवृत्त हुनु भएको छ, आगामी दिन सधैँ सुखद रहून्, स्वास्थ्य र खुशीले भरिपूर्ण रहून्, यही शुभकामना।
— डा. आविष्कार धरला

डोल्पा न्यूज । २४ श्रावण २०८२, शनिबार १५:४५