विष्णुप्रसाद देवकोटा
डोल्पा जिल्लाको ठुलीभेरी नगरपालिकामा मुख्यमन्त्री रोजगार रणनीति सम्बन्धी महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख सुबर्ण कुमार बुढाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमले स्थानीय स्तरमा रोजगारी सिर्जना तथा समन्वयका सवालमा गहिरो बहस र सम्भावनाको खाका कोरेको छ।
कार्यक्रममा नगर उपप्रमुख छिरिङ टोल्मा महत, प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद रोकाया, रोजगार संयोजक लगायत नगरपालिका अन्तर्गतका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
छलफलका क्रममा सहभागीहरूले रोजगार वृद्धिका लागि पालिकाले अवलम्बन गर्न सक्ने रणनीतिहरू, स्रोतको अधिकतम उपयोग, सीपमूलक तालिम तथा स्वरोजगार प्रवर्द्धनका विषयमा गहन विचार–विमर्श गरे।
नगर प्रमुख बुढाले आफ्नो सम्बोधनमा युवाशक्तिलाई मुलधारको विकाससँग जोड्न मुख्यमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्नुपर्नेमा जोड दिंदै भने, “स्थानीय तहमै रोजगारी सिर्जना गर्न सक्ने क्षमता विकास र योजना आवश्यक छ। हामी रणनीतिक रूपमा अघि बढ्न प्रतिबद्ध छौँ।”
कार्यक्रमले स्थानीय तहमा रोजगारका अवसर विस्तार गर्दै, प्रदेश सरकारको योजनासँग सहकार्यमा कार्यक्रमहरु अघि बढाउने सहमति समेत जुटाएको छ। स्थानीय युवा लक्षित रोजगार योजनाको स्पष्ट कार्ययोजना तयार पार्न छलफल निर्णायक बन्ने अपेक्षा गरिएको छ।

डोल्पा न्यूज । ३ असार २०८२, मंगलवार १९:२७