डाेल्पान्यूज | डोल्पा, असार २८ जिल्ला समन्वय समिति डोल्पाको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ का गतिविधिको समग्र समिक्षा तथा आगामी कार्यदिशा तय गर्न आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रम जिल्ला समन्वय समितिकाे सभाहलमा सफलता पूर्वक सम्पन्न भएको छ।
कार्यक्रमले जिल्लामा सञ्चालन भएका पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह, अनुगमन र समन्वयका गतिविधिहरूको गहन मूल्यांकन गर्दै आगामी आवको योजना तर्जुमा गर्न महत्वपूर्ण बहस र सुझावहरू समेटेको थियो।
कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले गरेका थिए। प्रमुख अतिथि रूपमा ठुलिभेरी नगर उपप्रमुख छिरिङ टोल्मा महत, त्रिपुरासुन्दरी नगर उपप्रमुख देवी घर्ती, तथा पूर्व संविधानसभा सदस्य दुधकुमारी हमालको गरिमामय उपस्थिति रहेको थियो।
यस्तै, प्रमुख जिल्ला अधिकारी रोमहादुर महत, प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्का, नेपाली कांग्रेसका जिल्ला सचिव हिक्मत शाही,नेकपा (माओवादी केन्द्र)का ओमेन्द्र केसी, तथा नेकपा (एमाले)का पूर्णबहादुर डाँगी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहनुले कार्यक्रमको राजनीतिक एवं प्रशासकीय गम्भीरता झल्काएको थियो।
कार्यक्रममा जिल्लाका सरकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू, प्रशासन प्रमुखहरू, र गैह्रसरकारी संस्थाका प्रतिनिधिहरूले आ–आफ्ना कार्यक्षेत्रको प्रगति विवरण प्रस्तुत गरे।
जिल्ला कारागार डोल्पाका प्रमुख दिर्घबहादुर आरसीले ८२ प्रतिशत प्रगति हासिल भएको जानकारी दिँदै १३ लाख ९१ हजार रुपैयाँ बेरुजुमध्ये १२ लाख ६६ हजार रुपैयाँ नियमित गरिन सफल भएको प्रतिवेदन सार्वजनिक गरे।
हुलाक कार्यालयका प्रमुख जयशंकर धितालले दरबन्दी अभाव, सञ्चार सेवा विस्तार, तथा सञ्जाल सुदृढीकरणका चुनौतीहरूबारे प्रस्ट पारे।
शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन ढकालले ८७.५२ प्रतिशत प्रगति विवरण प्रस्तुत गर्दै कार्यक्रमहरूमा दोहोरोपना, तीन महिनाभित्र कार्यक्रम सम्पन्न गर्नुपर्ने बाध्यता, र मुस्ताङ–डोल्पा सडक शीघ्र सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए।
त्रिपुरासुन्दरी नगरपालिकाका सूचना अधिकारी हेमन्त शाही तथा मालपोत कार्यालयका प्रमुख कर्णबहादुर बुढाले समेत आ–आफ्ना निकायका वार्षिक प्रगति विवरण प्रस्तुत गरे।
भेरी करिडोर आयोजना, निर्वाचन कार्यालय, तथा नापी कार्यालयका प्रमुखहरू अनुपस्थित रहेकाले केही सहभागीहरूले गम्भीर असन्तुष्टि व्यक्त गरे।रणबहादुर कार्कीको नेतृत्वमा गैह्रसरकारी संस्थाहरूको साझा प्रस्तुति गरिएको थियो, जसमा सामाजिक विकास, बाल संरक्षण, शिक्षा, महिला सशक्तिकरण लगायतका क्षेत्रमा हासिल उपलब्धिहरू समेटिएका थिए।
कार्यक्रममा नीति तथा योजना कार्यान्वयनमा देखिएको समन्वय अभाव, समयमै निर्णय नहुँदा कार्यक्रम प्रभावित हुने, र योजना पूर्वतयारीमा कमजोरीजस्ता चुनौतीहरूबारे विस्तृत छलफल भएको थियो।
समापन मन्तव्यमा अध्यक्ष श्यामबहादुर रोकायाले सबै कार्यालयहरूलाई पारदर्शिता, जवाफदेहिता, र परिणाममुखी सेवा प्रवाहमा थप सक्रियता देखाउन आग्रह गर्दै जिल्लालाई राष्ट्रिय मापदण्डमा उत्कृष्ट बनाउने दीर्घदृष्टि अघि सारे।
यो समीक्षा डोल्पा जिल्लालाई प्रभावकारी प्रशासन, उत्तरदायी नेतृत्व र दिगो विकासको मार्गचित्रतर्फ अग्रसर गराउनेमा सहयाेगी बन्ने प्रमुख जिल्ला अधिकारी राेम महतले बताए ।

डोल्पा न्यूज । २९ असार २०८२, आईतवार १४:१५