१. बहुदल आएपछि काठमाडौंमा भएको नेपाली कांग्रेसको महासमिति बैठकमा नेताहरूले बोल्न दिन आग्रह गरे । समय अभावका कारण सभापति भट्टराईले बोल्न चाहने सबै नेता-महासमिति सदस्यलाई समय दिन सकिरहेका थिएनन् । त्यसैले बैठकमा होहल्ला हुन थालेपछि उनले एउटा जुक्ति निकाले । महासमितिबाट पारित गर्नुपर्ने विषय पारित गरेपछि बैठक लम्ब्याएर पनि सबैलाई बोल्न दिन्छु भने । त्यसपछि सबै चुपचाप बसे । अनि भट्टराईले सबै विषय अनुमोदन गराए र भने, ‘ल, म जय नेपाल भन्छु, तपाईंहरू पनि सबैले जय नेपाल भन्नुहोला ।’ त्यसलगत्तै भट्टराईले जय नेपाल भने । र, बैठकमा उपस्थित अरुले पनि जय नेपाल भने । त्यसपछि भट्टराईले ‘ल, तपाईंहरू सबैले बोलिहाल्नु भयो’ भन्दै महासमिति बैठक सम्पन्न भएको घोषणा गरे ।
२. ०४८ फागुन पहिलो साता झापाको कलबलगुडीमा सम्पन्न महाधिवेशनमा गणेशमान सिंहले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कारबाही गर्नुपर्ने अडान लिए । सिंह र कोइराला वल्लोछेउ र पल्लोछेउ बसे । द्वन्द्व वार कि पारको अवस्थातिर जाँदै थियो । त्यत्तिकैमा सभा सञ्चालन गरिरहेका किसुनजीले जुक्ति निकाले- सबैका सामु विवाद मिलाउने जिम्मा आफूलाई दिन गणेशमान सिंहसँग आग्रह गरे । सिंहले मुन्टो हल्लाएर सहमति दिए । गिरिजाबाबुसित पनि धैर्य गर्न र विवाद टुंग्याउन आफूलाई समय दिन आग्रह गरे । गिरिजाबाबुले पनि सहमति दिए । त्यसपछि किसुनजीले सभाबाटै तीन महिनामा गणेशमान र गिरिजाप्रसाद दुवैको चित्त बुझाउने भन्दै समय मागे । सहमतिमै अनुमोदन गराए । गणेशमान र गिरिजाबीचको त्यो द्वन्द्वलाई उनले त्यत्तिकै फासफुस पारिदिए ।
३. एकचोटि पत्रकार विजयकुमारसितको अन्तर्वार्तामा किसुनजीलाई सोधियो, ‘तपाईं किन संसद बन्न चाहनु भएको ?’ उनको जवाफ थियो, ‘सांसद भएपछि रक्सी खाने पैसा आउँछ । त्यसैले मलाई जिताइदिनु होला ।’
आफू हारेर पनि प्रजातन्त्रलाई जिताउने किसुनजी
आज हामी किसुनजी अर्थात् कृष्णप्रसाद भट्टराईको सम्झना गर्दैछौँ । जब राजनीतिमा इमानको कुरा आउँछ अनि हामी भट्टराईलाई सम्झन्छौँ किनभने उनी राजनीतिको उच्च पदमा पुगेर पनि बेदाग रहे । जब राजनीतिमा हार र जितको कुरा आउँछ, त्यतिबेला पनि हामी किसुनजीलाई नै सम्झन्छौँ किनभने उनी हारबाट कहिल्यै आजित नहुने नेता थिए । जब राजनीतिमा अर्थपूर्ण हँसिमजाकको कुरा आउँछ, तब हामी किसुनजीलाई सम्झन्छौँ किनभने उनी हास्यरस बुझेर प्रयोग गर्न सक्ने नेता थिए । जब पार्टीभित्रको होस् या बाहिरको राजनीतिक झगडालाई साम्य पार्ने कुरा आउँछ अनि हामी किसुनजीलाई सम्झन्छौँ । किनभने उनले २०४६ देखि २०४८ सालम्म राजा र कम्युनिस्टहरूलाई मिलाएर प्रजातान्त्रिक संविधान घोषणा गर्ने वातावरण सफलतापूर्वक सम्पन्न गरे ।
गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाबीच चर्केको द्वन्द्वलाई त्यतिकै थामथुम र फासफुस पारिदिए र पार्टी फुटको संघारबाट जोगाए । जब गीताको कुरा चल्छ तब हामी किसुनजीको गीताप्रेमलाई स्मरण गर्छौं । उनका किस्साले मानिसलाई हँसाएन मात्र बेलाबेला कांग्रेसलाई फुटबाट जोगायो पनि । राजासित बढेको तनाव मत्थर पारेर संविधान ल्यायो । सांसद र नेताहरूको विलासी व्यवहारलाई उदाङ्गो पार्यो । पार्टी कार्यकर्तालाई ऊर्जा दियो । समयको पदचापलाई व्यंग्य र किस्साहरूले व्यवस्थापन गर्न पनि सघायो ।
उनका जीवनका बहुआयामिक पाटाहरू भए पनि हुनत उनी उच्च मनोबल र नैतिकता भएका प्रजातान्त्रिक छविका नेता थिए । त्यसैले उनले जति प्रजातान्त्रिक संविधान र संस्थाहरूको सम्मान अरु कमै नेपाली नेताहरूले गरेका छन् ।आमचुनावमा पनि कहिलेकाहीँ असल मान्छे हार्दा रहेछन् ! जनताले पनि अन्याय गर्दा रहेछन् ! यो कुरा केही नेताको जीवनमा लागू हुन्छ । जनताको स्वतन्त्रताका लागि राणा-शाहीसँग जुध्न र आफ्नो जीवन उत्सर्ग गर्न तत्पर एक जना नेतालाई पनि जनताले दुई पटकसम्म सजाय दिएका छन् चुनाव हराएर । ती अरु कोही होइनन्, नेपाली राजनीतिका स्तुत्य र सन्तनेता कृष्णप्रसाद भट्टराई हुन् । अर्थात्, नेपाली जनजनका प्रिय किसुनजी हुन् । उनी २०१५ र २०४८ सालमा दुईपटक प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन उठे, दुवैपटक हारे ।
पहिलोचोटि जनताले हराए पनि किसुनजीलाई बीपी कोइरालाले जिताइदिए । उनलाई बीपीले संसद बाहिर राख्न चाहेनन्, संसदकै नेता बन्ने अवसर प्रदान गरे । बीपी साँच्चै दूरद्रष्टा रहेछन् किनभने उनले जसलाई त्यसबखत सभामुख बनाए तिनैले उनीपछि कुशलतापूर्वक देशको नेतृत्व गरे । बीपीको निधन भएको ७-८ वर्षमै प्रधानमन्त्री र पार्टी सभापति दुवै भएर आफ्नो राजनीतिक कौसल प्रदर्शन गरे । हँसिलो मुहारमा सकिलो कोट पहिरिएर छाता र सुराही बोकेर बालुवाटार छिरेका भट्टराई त्यहाँबाट छाता, सुराही लिएरै वेदाग निस्के । उनी जिम्मेवारीमा चुकेनन्, भ्रष्टाचारले आक्रान्त समाजमा गन्हाएनन् । त्यसैले आम नेपाली उनलाई सम्मान गर्छन्, श्रद्धा गर्छन् ।
पहिलोचोटि भट्टराईले २०१५ फागुन ७ देखि चैत २१ गतेसम्म (४५ दिन) भएको प्रतिनिधिसभाको निर्वाचनमा पराजय व्यहोरे । त्यसबखत उनी कांग्रेसका ‘बिग फोर’ (बीपी, सुवर्ण, सूर्यबाबु र गणेशमान) भित्र त पर्दैनथे । तैपनि उनी बीपीको नजरमा भने अब्बल थिए । त्यसैले पार्टीले उनलाई उत्तरी गोरखा अर्थात् त्यसबेलाको निर्वाचन क्षेत्र १०४ बाट उम्मेदवार बनाएको थियो । उनका प्रतिस्पर्धी थिए नेपाल राष्ट्रवादी गोरखा परिषद्का विश्वनाथ सुवेदी । सुवेदीले उनलाई झिनो मतान्तरले पराजित गरे । उनको हारको शृंखला त्यतिमै टुङ्गिएन, ३३ वर्षपछि पनि किसुनजीले आमचुनाव हार्नु पर्यो । त्यो पनि काठमाडौं क्षेत्र नम्बर १ का शिक्षित र चेतनशील मतदाताले उनलाई हराइदिए । उक्त निर्वाचनमा नेकपा मालेका महासचिव मदनकुमार भण्डारीले उनलाई झिनो मतान्तरले पराजित गरे । त्यसपछि किसुनजीलाई विद्यालययको ‘मनिटर’ पनि नजितेको मान्छे भनेर उडाइयो । यसले किसुनजीको कद कत्ति पनि घटाएन । किनकि, उनी हार र जित दुवैलाई सहज रूपमा लिनसक्ने महान नेता थिए ।
जसले चुनाव हराए, त्यसको ८ वर्ष पनि बित्न नपाउँदै तिनैले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर प्रतिनिधिसभाको निर्वाचनमा जान बाध्य हुनुपर्यो । कारण, पार्टीभित्र उपल्लोकोटीका आमचुनावमा देखाउन लायक बेदाग छविका नेता उनीमात्रै थिए । २०५६ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी पर्साबाट विजयी भए । आफ्नै पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको निगाहमा प्रधानमन्त्री पनि बने तर एक वर्ष पनि सत्ता चलाउन पाएनन् । उनलाई गलहत्याइयो । तैपनि भट्टराईले प्रजातन्त्रसित दुस्मनी साँधेनन्, संसद भंग गरेनन्, जनअपेक्षाविपरीत गएनन् ।
२०५६ चैत ३ गते उनले संसदको रोष्ट्रममा उभिएर संयुक्त बैठकलाई सम्बोधन गर्दै भने, ‘देशभक्ति दण्डित हुने भीम मल्ल र भीमसेन थापाका कथा र व्यथाहरूको अभिशप्त इतिहासबाट हामी नेपालीले कहिले गएर छुटकारा पाउने हो ? के प्रजातन्त्रको लडाइँको तात्पर्य कुटिल राजनीतिका खेलहरूको विसर्जन र पारदर्शीताको प्रदर्शन हैन ?’ सांसदहरूसमक्ष यस्तो मार्मिक मन्तव्य दिँदै उनी प्रधानमन्त्रीबाट राजीनामा गर्न दरबार गए । न अरु प्रधानमन्त्रीहरूले जस्तो संसद विघटन गरे, नत पार्टीभित्र कुनै बबन्डर । त्यसैले ४० वर्षअघि चुनाव हार्दा पनि बीपीले उनलाई सभामुख बनाएका रहेछन् । बीपीले किसुनजीको उच्च र उदात्त प्रजातान्त्रिक संस्कार त्यो बेलै पहिचान गरिसकेका रहेछन् ।
२०१६ असार १८ गते ३५ वर्षमात्र पुगेका भट्टराई पहिलो प्रतिनिधिसभाको पहिलो सभामुखमा सर्वसम्मत निर्वाचित भए किनभने त्यसबेलाको संविधानमा प्रतिनिधिसभाको सदस्य नभएका व्यक्ति पनि सभामुख बन्न सक्ने व्यवस्था थियो ।कृष्णप्रसादले आफू हारेर पनि प्रजातन्त्रलाई जिताए । २०४७ सालमा कठिन परिस्थितिमा पनि निरंकुश राजा र उग्र वामपन्थीहरूलाई मिलाएर मध्यमार्गी राजनीतिक बाटोमा सबैलाई सहमत गराए । संविधान जारी गर्न राजालाई वाध्य तुल्याए । २०१७ पुस १ को शाही ‘कू-देता’ पछि बीपी, गणेशमान, किसुनजीहरू सुन्दरीजल सैनिक कारागारमा बन्दी बनाइए ।
२०२५ कात्तिकमा त्यहाँबाट रिहा भएपछि बीपी, गणेशमानलगायतका नेताहरूले भारत प्रवासलाई रोजे भने किसुनजीले नेपालमै बसेर राजासित सिमौरी खेल्ने बाटो समाते । बीपीहरू भारतीय भूमिमा बसेर राजाको निरंकुशताविरुद्ध संघर्षको मोर्चा कसिरहँदा किसुनजी भने नख्खुजेलमा बन्दी थिए । उनी नेपालकै जेलमा बसेर राजालाई गलाउने र प्रजातन्त्र पुन:स्थापना गरिछाड्ने अठोटसाथ अहिंसात्मक आन्दोलनको बेडा थामिरहेका थिए । यसअर्थमा किसुनजी स्वदेशी माटोमै अहिंसात्मक आन्दोलनका कट्टर समर्थक र प्रयोगकर्ता थिए ।
राणा फाल्ने जनक्रान्तिका नायकहरूमध्येका एक, नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री भट्टराई लोकतान्त्रिक राजनीतिकका शिखर पुरुष हुन् । संसदका पहिलो सभामुखदेखि लगभग १८ वर्षसम्म कांग्रेस सभापति रहेका भट्टराई राजनीतिक उहापोहका कर्ता र भोक्ता दुवै थिए । २०४७ सालको संविधान घोषणाका प्रमुख पात्र तथा बहुदलीय संसदीय राज्यप्रणालीका अग्र अनुहार २०१२ सालमा स्थापित आजको नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष पनि हुन् ।
उनका खासै जीवन र कृतिहरू पनि प्रकाशित छैनन् । किसुनजीका ‘मेरो म’, ‘प्रा. राजेश गौतमको कर्मयोगी राजनीतिज्ञ कृष्णप्रसाद भट्टराई’ जस्ता एक-दुई पुस्तकबाहेक खासै उनीबारे लेखिएका कृतिहरू पनि छैनन् । उनले लेखेको भनिएको ‘सेन्सर सुब्बाको भ्रम’ कसले पो दम्पट पार्यो आजसम्म कुनै अत्तोपत्तो छैन । समाजशास्त्र-मानवशास्त्रका उपप्राध्यापक होमराज दाहालले उनीबारे ‘रोल अफ कृष्णप्रसाद भट्टराई इन स्ट्रेन्थेनिङ डिमोक्रेटिक प्रोसेस इन नेपाल’ मा शोधपत्र गरेका छन् । त्रिचन्द्र कलेजमा समाजशास्त्रका उपप्राध्यापक दाहाल मानवशास्त्रका ‘गोल्डमेडलिस्ट’ हुन् । दाहाल २०५१ सालको मध्यावधि निर्वाचनमा सिन्धुली-२ बाट प्रतिनिधिसभामा निर्वाचित पनि भएका थिए ।
गीताका पारखी, विनोदी स्वभावका सहनशील र उच्च राजनीतिक संस्कार भएका किसुनजीले जीवनको उत्तरार्धमा आइपुग्दा आफैँले जन्माएर हुर्काएको नेपाली कांग्रेसबाट पनि अलग्गिनु पर्यो । २०६२ सालपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेसले लिएको निर्णयमा आफू संलग्न नरहेको भन्दै उनले वक्तव्यमार्फत कांग्रेस त्यागेको घोषणा गरे । यद्यपि, उनले नेपाली समाजमा इमान, नैतिकता, उच्च प्रजातान्त्रिक मूल्य र मान्यताको छाप भने छोडेर गएका छन् । त्यसलाई अनुशरण गर्न सके लोकतन्त्र र स्वतन्त्रता कसैले पनि खोस्न सक्ने छैन ।
ऋषितुल्य किसुनजीलाई सम्झनु भनेको अविचलित लोकतान्त्रिक निष्ठा, लोभलालच र बदलाको भावनाको विसर्जन पनि हो । उनकै नेतृत्वमा राजनीति गरेका आजका पुस्ताले पक्कै पनि किसुनजीलाई सम्झे होलान् किनभने १३ वर्षअघि आजकै दिन (२०६७ फागुन २० गते) किसुनजीको निधन भएको थियो । हामी पनि प्रजातान्त्रिक निष्ठा र संस्कारका ती धरोहरलाई सौगात शब्देलीहरूका पुष्पगुच्छा अर्पण गर्छौं । आफू हारेर पनि प्रजातन्त्रलाई जिताउने ती मनिषीलाई पुनः उच्च सम्मानसाथ स्मरण गर्छौं ।शिलापत्रवाट साभार