डोल्पा — हिमाली जिल्ला डोल्पामा सवारी साधनको चापसँगै ट्राफिक नियम उल्लंघनका घटना बढेका छन्। नियम विपरीत सञ्चालन भइरहेका सवारी साधनमाथि जिल्ला ट्राफिक कार्यालय डोल्पाले कडा निगरानी थालेको छ।
चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा (श्रावणदेखि चैत्रसम्म) १ हजार २ सय ९६ वटा सवारीसाधन कारबाहीमा परेका छन्। ती कारबाहीबाट ११ लाख २६ हजार ५ सय रुपैयाँ बराबरको राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय डोल्पाका निमित्त प्रमुख विष्णु थापाले जानकारी दिए।
सबैभन्दा धेरै कार/जिप र मोटरसाइकल नियम उल्लंघनमा परेका छन्। प्रमुख कारणहरूमा बिना कागजात सवारी चलाउने, सवारी साधनको अवस्था नजाँची प्रयोगमा ल्याउने, क्षमता भन्दा बढी सामान ओसारपसार गर्ने र अन्य ट्राफिक नियमहरू उल्लंघन गर्ने छन्।
थापाका अनुसार, “नियमित अनुगमनलाई अझ प्रभावकारी बनाउँदै ट्राफिक सचेतना अभिवृद्धिका कार्यक्रमहरू पनि सञ्चालनमा ल्याइनेछ।”
अघिल्ला आर्थिक वर्षहरूमा पनि कारबाही र राजस्व संकलनमा उल्लेख्य वृद्धि देखिएको छ।
२०७७/०७८: ९६८ सवारीसाधन कारबाही, ८ लाख ४९ हजार ५ सय राजस्व
२०७८/०७९: १,४६९ सवारीसाधन, १३ लाख ४२ हजार ५ सय
२०७९/०८०: १,४०३ सवारीसाधन, ११ लाख ३९ हजार
२०८०/०८१: १,५८७ सवारीसाधन, १२ लाख ४१ हजार ५ सय
हालको वर्षको वार्षिक विवरण असार अन्तिममा सार्वजनिक गरिने बताइएको छ।
२०७५ सालमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै डोल्पामा सवारी चाप तीव्र रूपमा बढेको छ। ग्रामीण क्षेत्रसम्म सडक विस्तार भएपछि दैनिक रूपमा सञ्चालन हुने अधिकांश सवारी विना अनुमति सञ्चालनमा रहेको ट्राफिक कार्यालयको भनाइ छ।
कारबाहीसँगै सचेतना पनि सँगसँगै अघि बढाउने तयारीमा रहेको ट्राफिक कार्यालयले महिनैपिच्छे कारबाही विवरण सार्वजनिक गर्दै आएको छ।

डोल्पा न्यूज । २ जेष्ठ २०८२, शुक्रबार १९:४५