ताजा समाचार

कर्णालीका डोल्पा र जुम्लामा आज छोरा तिहार!

पुर्ण सार्की/ डोल्पा न्युज। आज कर्णालीवासीले छोरातिहार मनाएका छन्। नेपालमा अन्यत्र कतै नमनाइने छोरातिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका हिमाली जिल्ला डोल्पा र जुम्ला लगायतका जिल्लामा धुमधामका साथ मनाइएको हो।

यस दिन बिहानै आमा र छोरा दुवैले नुहाइधुवाई गरेर छोराहरूले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ। भाइटीकाजस्तै छोरातिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा फूलको माला लगाइदिएर सगुनको रूपमा घरमा बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकार खुवाउने प्रचलन छ।

टीका लगाइसकेपछि छोरालाई सुख, शान्ति, दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिइन्छ। छोराले पनि आमाको हातबाट टीका र आशीर्वादपछि दक्षिणाको रूपमा सक्दो पैसा, धोतीचोलीजस्ता कोसेली दिएर गोडामा ढोग्ने चलन छ।

जिल्लाबाहिर रहेका छोराहरू पनि आमाको हातबाट टीका थाप्न आजको दिन जसरी पनि घर पुग्ने गर्छन्। कामविशेषले घर पुग्न नसक्ने छोराहरूले फोनलगायतका माध्यमबाट आशीर्वाद लिने र आमाले छोराका लागि बनाएको कोसेली छुट्याएर राखिदिने गरिन्छ।छोरातिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घर तथा गाउँबस्तीहरूमा पुगेर भाइटीकामा देउसी भनेजस्तै भैलो खेल्ने प्रचलन छ। यसरी भैलो खेलेर उठेको रकमबाट धारा, पँधेरा, बाटोलगायत सार्वजनिक सम्पदा मर्मतसम्भार गरिन्छ भने बचेको रकमबाट (पाठीभात) वनभोज जाने गरिन्छ।

यस दिन महिला पनि सार्वजानिक स्थलहरूमा भेला भएर चुट्किला, देउडा खेलेर रमाइलो गर्ने र एक–अर्काको पिर–व्यथा साटासाट गर्ने गर्छन्। यस तिहारमा आमा नहुनेहरूले भने स्थानीय मठ मन्दिरमा गएर पुजारीको हातबाट टीका–अक्षता लगाएर मनाउने गर्छन्।

छोरा तिहार डोल्पा लगायत कर्णालीका केही जिल्लामा मात्र मनाइने त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीय जुन बहादुर सार्कीले बताए। परापूर्वकालदेखि मनाउँदै आएको यो तिहारको रौनक अहिले पहिलेजस्तो नभएको उनको भनाइ छ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!