विष्णुप्रसाद देवकोटा
डोल्पा, बैशाख वैशाख ३१ — हिमाली जिल्ला डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा अब चाँडै इलाका प्रशासन कार्यालय स्थापनाको तयारी भइरहेको छ। गृह मन्त्रालयको निर्देशनअनुसार इलाका कार्यालयको सेवा प्रवाह र सम्भाव्य स्थानको विवरण सहितकाे पत्र जिल्ला प्रशासन कार्यालय डाेल्पाले गृहमन्त्रालयमा पठाएकाे छ ।प्रशासनिक पहुँच नपुगेकाे उपल्लो डाेल्पाका बस्तीहरूमा इलाका प्रशासन कार्यालय स्थापना भएमा अब सरकारी सेवा सहज हुने संकेत गरेको छ।
गृह मन्त्रालय अन्तर्गतको निजामती कर्मचारी प्रशासन शाखा, सिंहदरबार, काठमाडौंमा मिति २०८२।०२।१६ मा प्राप्त पत्रका आधारमा तयार पारिएको विवरणअनुसार, डोल्पोबुद्ध गाउँपालिकाका सबै वडा, शे-फोक्सुण्डो गाउँपालिकाका १, २, ३, ५, ६, ७ नं. वडा र छार्काताङसोङ गाउँपालिकाका १, २, ३ र ६ नं. वडामा सेवा विस्तार गरिएमा नागरिकमा राहत हुने प्रमुख जिल्ला अधिकारी राेमबहादुर महतले बताउनु भयाे।
स्थानीय स्रोतसाधनमा आधारित सेवा
विस्तारित सेवा प्रवाहका लागि स्थानीय तहबाट भवन उपलब्ध गराउने तयारी गरिएको छ। त्यस्तै, यातायातको पहुँचका सन्दर्भमा आन्तरिक पालिकासम्म कच्ची सडक रहेको र सदरमुकाम दुलेगौँडासँग सडकमार्गबाट जडान भएको उल्लेख गरिएको छ।
डोल्पाको दुर्गम भेगमा सरकारी सेवा पुर्याउन विद्युतीय र सञ्चार पूर्वाधारहरू पनि आवश्यक पर्छन्। प्रस्तावित क्षेत्रमा सोलार प्रविधिबाट सञ्चालित विद्युत् व्यवस्था छ, साथै Worldlink को इन्टरनेट सेवा पनि उपलब्ध छ। यसले विद्युतीय सेवा सञ्चालन र डिजिटल प्रणालीमार्फत सेवा प्रवाहमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
ग्रामीण जनताको ढोँकामा सेवा
डोल्पा जिल्लाको भौगोलिक विकटता, अपूरो यातायात पूर्वाधार, र सिमित सञ्चार पहुँचका बीचमा सरकारले इलाका प्रशासन कार्यालय स्थापनाको पहलले स्थानीय तहमा प्रशासनिक सेवा पुर्याउने स्पष्ट संकेत दिएको छ। अब नागरिकता, सिफारिस, जन्मदर्ताजस्ता सेवा लिन सदरमुकाम धाउनु नपर्ने जनअपेक्षा छ।
यो कदमले राज्यको उपस्थिति जनताको ढोँकासम्म पुगोस् भन्ने सरकारको प्रयासलाई थप मूर्त रुप दिने देखिएको छ। ग्रामीण भेगमा शासनको पहुँच, नागरिक सेवाको प्रभावकारिता र समावेशी विकासमा यसको प्रत्यक्ष प्रभाव पर्ने विश्वास लिइएको छ।

डोल्पा न्यूज । ३१ बैशाख २०८२, बुधबार ११:४६