पुर्ण कुमार/ डोल्पा न्युज
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ०१ त्रिपुराकोटमा पर्ने हिमज्योति आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक अवलोकन भ्रमण गराइएको छ।
शुक्रबार विद्यालयले विद्यालयमा कक्षा ३,४, र ५ मा अध्ययनरत विद्यार्थीलाई त्रिपुरासुन्दरी ०१ त्रिपुराकोटको थाना गैरामा निर्माणाधीन भ्यु पार्कको प्रतक्ष्य अवलोकन गराइएको हो।
विद्यार्थीहरुलाई किताबि ज्ञान मात्रै न भएर बाहिरी ज्ञानको लागि समेत यस्ता शैक्षिक भ्रमणका कार्यक्रम गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक मन् बहादुर सार्कीले डोल्पा न्युजलाई बताउनु भयो।
भ्रमणको क्रममा विद्यार्थीहरुलाई गुदुम डाँडामा अवस्थित श्री बाला त्रिपुरासुन्दरी देवीको सम्झनामा निर्मित देवल(मन्दिर जस्तै ढुङ्गाले बनाइएको आकृति) को समेत अवलोकन गराइएको प्रधानाध्यापक सार्कीले बताउनु भयो।
विद्यार्थीहरुलाई उक्त ठाउँमा देवल किन बनाइयो, के कारण बनाइयो र यसको महत्व के छ त भन्ने विषयमा समेत बताइएको थियो। उक्त ठाउँको भ्रमण पश्चात विद्यार्थीहरुलाई डाँडाकाँडाका रमणीय दृश्य देखाउदै थाना गैरामा निर्माणाधीन भ्यु पार्कमा लगिएको थियो ।
साना साना कलिला उमेरका विद्यार्थीहरुलाई भ्यु पार्कमा जाने भन्नै बित्तिकै हृदय देखि उत्साह समेत जागेको थियो । भ्यु पार्क पुगे लगत्तै विद्यार्थीहरु कथा, कविता रचना गर्न थालेका थिए।
पहिला नाङ्गो डाँडा रहेको उक्त ठाउँमा अहिले पार्क निर्माणको प्रक्रिया सुरु भएँ सगै यसले डोल्पाको पर्यटकीय सम्भावनालाई अझ बलियो बनाउने छ।
उक्त ठाउँमा अहिले सघन, सहरी तथा भवन निर्माण आयोजना जुम्लाले लाखौंको बजेटमा भ्यु पार्क निर्माण गरिरहेको छ। भ्यु पार्क निर्माणको काम अहिले करिब ७० प्रतिशत समेत सकिएको छ।
जताततै हरियाली देखिने उक्त ठाउँ देखि त्रिपुरासुन्दरी नगरपालिका भित्रका अधिकांश बस्ती र ठुली भेरी नगरपालिका भित्रका केही बस्तीहरुको समेत दृश्य अवलोकन गरिएको छ। त्यति मात्रै नभई माथिल्लो डोल्पाका उच्च हिमाली भाग हरुको समेत दृश्यअवलोकन गरिएको छ।
भ्यु पार्क निर्माणस्थलको ठाउँ देखि सुन्दर मुकुटेस्वर हिमाल, छल मष्टा भवानीको दर्शन, विक्रम शाही महाराजको दरबार, कलेरीकाडाको बस्ती, चु गाउँ, लिकु, पहाडा, दापू, बन्तडी, बलंग्रा लेक जस्ता सुन्दर ठाउँहरूको समेत अबलोकन गर्न सकिन्छ।
भ्रमणको क्रममा विद्यार्थीहरुले आफूले रचेका कथा, कविता , गीतहरु गाएर सुनाएका थिए।
विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको समेत आयोजना गरिएको विद्यालय परिवारले डोल्पा न्युजलाई जानकारी दिएको छ।
भ्यु पार्क निर्माणको काम सकिए लगत्तै विद्यार्थीलाई पुनः भ्रमणमा ल्याउने बताइएको छ।
शैक्षिक अवलोकन भ्रमणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बम बहादुर सार्की, विद्यालय स्थापना गर्न महत्वपूर्ण भुमिका खेलेका र संस्थापक अध्यक्ष लक्ष्मी सार्की, विद्यालय व्यवस्थापन समितिका सदस्य सागर सार्की, विद्यालयका शिक्षक शिक्षिका, र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
साच्चिकै प्रकृतिले सुन्दर वरदान दिएको डोल्पा आफैमा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। प्रचार प्रसार अभावले डोल्पाका अधिकांश पर्यटकीय स्थलहरु ओझेलमा पर्दै आइरहेका छन् । डोल्पाका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गरेर देश व्यापी चिनाउनु तपाईं हामी सबैको दायित्व पनि हो ।