ताजा समाचार

कार्तिकमै उपल्लो डोल्पामा हिउँको सेतो साम्राज्य : जनजीवन कष्टकर, आवतजावत अवरुद्ध

विष्णुप्रसाद देवकोटा

डाेल्पा, कात्तिक १२ गते। मंगलवारदेखिको अविरल हिमपातले उपल्लो डोल्पाको जनजीवन ठप्पजस्तै बनेको छ । लगातार परेको हिउँका कारण गाउँघर सेताम्य बनेका छन् भने जाडोको तीव्रतासँगै दैनिकी कठिन बनेको स्थानीयले बताएका छन् ।

छार्का–ताङसोङ, शे–फोक्सुण्डो र डोल्पोबुद्ध गाउँपालिकामा हिउँ जमेर बाटाघाटा अवरुद्ध भएका कारण आवतजावतमा समस्या परेको छ । विद्यालयदेखि सरकारी कार्यालयका नियमित कामकाज समेत प्रभावित भएका छन् ।

“हिउँले पुरै बस्ती सेतो चादरले ढाकिएको छ, बाहिर निस्कनै गाह्रो छ,” डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्ष पेमा दाेर्जे गुरुङले भने, “कात्तिकमै यति ठूलो हिउँ परेकाे वर्षाैँपछि देख्यौं, पशुपालन र दैनिकी दुवैमा ठूलो चुनौती आएको छ ।”

स्थानीय किसानहरूका अनुसार तीव्र जाडोका कारण पशुचौपायलाई बचाउन मुस्किल परेको छ । चिसोले मानव मात्र होइन, जनावरसम्मको दैनिकी असर पारेको छ ।

हिउँका कारण सम्पूर्ण गाउँ सेतो वस्त्रले ढाकिएपछि उपल्लो डोल्पा अहिले हिउँको सुन्दरतामा रुमल्लिए पनि त्यससँगै कठिनाइ पनि थपिएको छ ।

तपाईको प्रतिक्रिया