डाेल्पान्युज डेक्स
भेरी करिडोर सडक आयोजना बल्ल लयमा आउन थालेको छ। जाजरकोट खण्डमा रहेको ५६ किलोमिटर सडक खण्डमा कालोपत्रका हुने क्रम जारी रहेपनि रुकुम पश्चिम हुँदै डोल्पाको दुनै सम्म ठेक्का नलाग्दा निर्माणमा ढिला भएको थियो।
ठेक्का लाग्नुपूर्व हुने सबै खालका प्रक्रियागत कामहरु अहिले चलिरहेकोले अबको दुई महिना भित्र कालोपत्रको लागि ठेक्का लाग्ने आयोजनाका प्रमुख सुनिल रन्जितकारले बताए। लामो समय देखि ठेक्का लागेर पनि निर्माण चरणमा जान नसकेका ५६ किलोमिटर भित्रका पुलहरु वर्षात लगत्तै निर्माण कार्य सुरु हुने आयोजना प्रमुख रन्जितकारले जानकारी दिनुभयो। जाजरकोट–डोल्पा सडक खण्डभित्र पर्ने भेरी नदीमा आधा दर्जन पुलहरू ठेकेदार कम्पनी क्याराभान कन्स्ट्रक्सनले अलपत्र पारेको हो।
सडक विभागको पुल महाशाखाबाट ३६ महिनाभित्र निर्माण गर्ने गरी बोलपत्र गरिएको थियो। ठेक्का लिएको पाँच वर्ष बित्दासम्म काम नै शुरु नहुँदा यस क्षेत्रका स्थानीयबासीहरु आक्रोशित भएका छन्। जाजरकोटको नलगाड नगरपालिकाको ताँसुगाड पुल, मैदेखोला, त्रात्रगाड, झुम्रेखोला र नलगाड नदीमा क्याराभानले पुल निर्माण नगरेर अलपत्र पारेकोमा अब लगत्तै सुरु गर्ने सहमति भएको प्रमुख रन्जितकारले बताए।
डिजाइन इस्टिमेट सडक विभागमा पास नगरी बेपत्ता भएका क्याराभान कन्स्ट्रक्सनका प्रमुख चन्द्र थकाली सम्पर्कमा आएर काम सुरु गर्छु भनी सहमति गरेको उनले बताए।
डिजाइन इस्टिमेट पास गर्न पुल महाशाखालाई ताकेता गर्नुको साटो चुप लागेर बसेपछि पुल निर्माणमा ढिलाई भइरहेको थियो। अहिले भेरी नदीका केही ठाउँमा कम भारवहन क्षमताका बेलिब्रिज पुलहरू निर्माण गरेर यातायातका साधनहरू सञ्चालन भइरहेका छन्। त्यस्तै जाजरकोटको तल्लुबगर, डोल्पाको खदाङ र छलगाडमा समेत पक्की पुलको बोलपत्र भएर वाइपी एमआर जेभी, चितवनले ठेक्का पाएको थियो।
२६ माघ २०७९ पुल महाशाखामा सम्झौता भइसकेको छ। यो कामको अनुगमन तथा मूल्यांकनको काम पुल सेक्टर, सुर्खेतले हेर्दै आएको छ। ६ महीनाभित्र डिजाइन गरिसकेर पुलको भौतिकतर्फको काम शुरु गर्नुपर्ने भएपनि हाल सम्मा काम सुरु हुन नसकेको हो। पुल निर्माणको ढिलाइले यस क्षेत्रमा यातायात सेवा सञ्चालनमा चुनौती थपिएको छ।
त्यस्तै डोल्पाको छलगाडमा समेत पक्की पुल निर्माणका लागि ठेक्का भइसकेको छ। भेरी करिडोरअन्तर्गत जाजरकोटको पासागाडदेखि डोल्पाको मरिमसम्म २३१।५ किलोमिटर लम्बाइ छ। भेरी करिडोरको जम्मा लम्बाइ ३१० किलोमिटर छ। अहिले पासागाड–रिम्ना हुँदै तल्लुबगरसम्म पिचको काम शुरु भएको छ। यो सडकखण्डमा तोकिएको समयमा पुल निर्माणको काम नहुँदा वर्षेनी सास्ती हुँदै आएको छ।