ताजा समाचार

डोल्पामा बित्तीय अनुशासन र सुशासन प्रवर्द्धनसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया

डोल्पाको दुनैमा गाउँपालिका महासंघ नेपालको आयोजनामा बित्तीय अनुशासन पालना, बेरुजु फर्छ्योट र सुशासन प्रवर्द्धन सम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जगदुल्ला, मुड्केचुला, काइके गाउँपालिका, त्रिपुरासुन्दरी र ठुलीभेरी नगरपालिकाका लेखा अधिकृत, निर्वाचित जनप्रतिनिधि तथा जिल्ला समन्वय समितिका प्रमुखको सहभागिता रहेको थियो।

जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकायाले सुशासनको प्रत्याभूति दिलाउन सबैको साझा भूमिका आवश्यक रहेको बताउँदै व्यवहारमै आधारित छलफल र सिकाइप्रति जोड दिनुभयो। उहाँले बेरुजु फर्छ्योटमा ध्यान दिन महालेखा परीक्षकको सक्रियता जरुरी रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि स्थलगत अध्ययनमार्फत मात्र कारवाही अघि बढाउनुपर्ने सुझाव दिनुभयो।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले स्थानीय सरकारले वडास्तरसम्म सेवा प्रवाह विस्तार गरी उपभोक्तालाई छिटो र सजिलै भुक्तानी दिने व्यवस्थामा लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले लेखापरीक्षणको कार्यसमेत विकेन्द्रीकरणको सिद्धान्तअनुसार वडास्तरमै पुगेर गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिका महासंघ कर्णाली प्रदेश अध्यक्ष निमबहादुर केसीले बित्तीय अनुशासन कायम राख्न ऐन, नियम तथा प्रतिवेदनको अध्ययन र कार्यान्वयनमा सचेतना जरुरी रहेको बताउँदै अन्तरक्रिया कार्यक्रमको उद्देश्य प्रस्ट पार्नुभयो।

यस कार्यक्रमले स्थानीय तहमा बित्तीय अनुशासनसहित सुशासन प्रवर्द्धन गर्न थप मार्गचित्र तय गरेको विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया