ताजा समाचार
भारी हिमपातबीच राति घरमा लागेको आगलागीबाट धनजन दुवै क्षति

शे–फोक्सुण्डोमा आगलागी, २५ वर्षीया छोरीको मृत्यु

डोल्पा ।शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दो रापा गाउँमा भीषण आगलागी हुँदा २५ वर्षीया युवतीको ज्यान गएको छ।पेम्मा तोर्चे लामा गुरुङको घरमा लागेको आगलागीमा उनकी छोरी छिरिङ बुटी लामा गुरुङकाे मृत्यु भएको हो।आगलागी कार्तिक १३ गते भएकाे हाे । घटनाका बेला छोरी घरमा एक्लै सुतिरहेकी थिइन् भने बुबा काम विशेषले छिमेकतिर गएका थिए।

तीन दिनदेखि लगातार परेको भारी हिमपातका कारण आगलागीको जानकारी नजिकका बस्तीमा समयमै पुग्न सकेको थिएन। राति करिब ११ बजेको आगलागीबाट घरसहित सम्पूर्ण धनजन जलेर नष्ट भएको स्थानीयले बताएका छन्। घरमा भर्खरै भित्र्याइएको अन्नबाली, लत्ताकपडा, पूजा सामग्री, धार्मिक ग्रन्थ र नगद समेत पूर्ण रूपमा जलेका छन्।

घटनापछि स्थानीयवासी र आफन्तजनको उपस्थितिमा तीन दिने “पुजा पाल साङेन ङेदोन लुन्डुप लिङ” आयोजना गरिएको छ।स्थलगत अनुगमनका लागि वडा अध्यक्ष, उपाध्यक्ष र साल्दाङ प्रहरी चौकीको टोली घटनास्थल पुगेको छ र सर्जमिन मुचुल्का समेत तयार गरिएको छ।

शे–फोक्सुण्डो गाउँपालिकाले तत्कालका लागि १० किलो घ्यू, ५ कठ्ठा चामल, १ प्याक भोटे चिया र नुन राहत स्वरूप उपलब्ध गराएको जनाएको छ। त्यस्तै, गाउँलेहरूले पनि लत्ताकपडा, अन्नपदार्थ र अन्य सामग्री उपलब्ध गराउँदै स्वेच्छिक रूपमा सहयोग गरेका छन्।

बिपतको सहयोगभन्दा पनि त्यसका लागि लाग्ने कागजी प्रक्रिया, प्रहरी अनुसन्धान र हेली चार्टर खर्चले जनतालाई झन् समस्यामा  पारिरहेको पेम्मा वाङछेन गुरुङले जानकारी दिए ।उनले जिल्ला र प्रदेश विपद् व्यवस्थापन कोषबाट पनि थप सहयोगको अपेक्षा व्यक्त गरेका छन्।

यसअघि भदौ महिनामा सोही क्षेत्रको खोलाले ३३ वर्षका युवक र ९ वर्षका विद्यार्थीको पनि ज्यान लिएको थियो।

 तस्बिर सबै :पेम्मा वाङछेन गुरुङ

तपाईको प्रतिक्रिया