ताजा समाचार

सुन्धारा कारागारबाट ३३ सय कैदीबन्दी फरार, टोपबहादुर पनि देखिएनन्

सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएको पाइएको छ ।

कारागारमा रहेका ३८ सय कैदीबन्दी मध्ये हाल करिब ५ सयको हाराहारीमा मात्रै छन् ।

त्यस्तै भद्रबन्दी गृह र महिला बन्दी गृहमा सय/सय जनाको संख्यामा कैदीबन्दी रहेको कारागार स्रोत बताउँछ।

कारागार व्यवस्थापन विभागका एक अधिकृतका अनुसार, भद्र बन्दीगृहमै रहेका टोपबहादुर रायमाझी पनि भागेका छन् ।

उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा थिए ।

विभागका अनुसार, भागेका कैदीबन्दीलाई सेनाले पक्राउ गर्न थालेपछि केही भने फिर्ता भएका छन् ।

विभागका ति अधिकृतका अनुसार, नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरूले राति १० बजेतिर आएर ‘हामी आयौं, तिमीहरू पनि भाग’ भन्दै केन्द्रीय कारागार तोडफोड गरेका थिए ।

कारागारको बाहिरी सुरक्षामा रहेका प्रहरीले भने कैदीबन्दीको आक्रमणपछि भागेर सैनिक मुख्यालय भित्र छिरेर ज्यान जोगाएका थिए ।

त्यसपछि मात्रै सेना पुगेर स्थिति नियन्त्रणमा लिएको थियो । तर, सेना पुग्दा कैदीबन्दी त्यहाँबाट भागिसकेका थिए ।

तपाईको प्रतिक्रिया