ताजा समाचार

सपना जस्तो पुल, अधुरो यात्रा: डोल्पाको बेलिब्रिज, एक आशा र चुनौती

विष्णुप्रसाद देवकोटा

डोल्पा, दुनै ।सयौं वर्षको प्रतीक्षा जीवन र मृत्युको संधिस्थलजस्तो भेरी नदी… अनि त्यस माथि आज उभिएको छ एउटा पुल,जुन शब्दले मात्र होइन, भावनाले “बेलिब्रिज” हो।

यो पुल अब केवल फलाम र फलामको संरचना होइन; यो डोल्पाली जनताको पीडा, संघर्ष र आशाको संगम हो। सदरमुकाम दुनैस्थित भेरी नदीमा नवनिर्मित बेलिब्रिजले वल्लो बजार र पल्लो गाउँलाई केवल दुई छेउ मात्र होइन, दुई युग जोडिदिएको छ।

चार करोड १७ लाख ७० हजार ५९० रुपैयाँको लागतमा पूर्वाधार विकास कार्यालय, डोल्पाले आरआइडिए आरसी नेपाल प्रालिसँग सम्झौता गरी २०८१ असार १६ गतेदेखि सुरु गरेको निर्माण कार्य २०८३ असार १५ भित्र सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढेको थियो। अहिले त्यो सपना मूर्तरूपमा उभिएको छ ।गर्वका साथ, गौरवका साथ।

तर यो गर्वभित्र एक अधुरो पीडा अझै बाँकी छ।

डोल्पाको दुरसञ्चारभन्दा पनि कठिन स्वास्थ्य सेवा,यहाँका  जनतालाई विशेषगरी बिरामी लिएर अस्पताल पुग्नु भनेको मृत्युको सिँढी चढ्ने झैं कठिन थियो। बेलिब्रिजले यो दूरी छोट्यायो, तर हृदयमा अझै टाँसिएको छ, अस्पतालसम्म पुग्ने बाटोको अभाव। एम्बुलेन्स अझै गोरेटो किनारमा उभिएको छ, भित्र पस्न सक्दैन।

२०८२ साउन ५ गतेको दिन इतिहास लेखिएको छ। ठुलीभेरी नगरपालिकाका नगरप्रमुख सुबर्ण कुमार बुढाको नेतृत्वमा भएको स्थलगत अनुगमनले त्यो अधुरो सपनालाई पूरा गर्ने बाटो खोल्ने प्रयास गर्‍यो। भौतिक पूर्वाधार प्रमुख ई. टेक हितान, अमिन विनिता पौडेल, वडा अध्यक्ष भक्त बहादुर भण्डारी, कमल बहादुर क्षेत्रीलगायतको टोलीले अस्पतालसम्मको सडक निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गरिने घोषणा गरे।

नगरप्रमुख बुढा भन्छन्,”बेलिब्रिजको पूर्ण लाभ लिन, अस्पतालसम्मको बाटो निर्माण गर्नु अब टार्न नसकिने आवश्यकता हो। शिव मन्दिर, हुलाक कार्यालय हुँदै साबिकको गाेरेटो बाटोलाई विस्तार गर्नु बाहेक विकल्प छैन।”

यो भनाइ केवल प्राविधिक उपाय होइन, जनताको मुटुभित्रको आवाज हो।

बेलिब्रिज बनेको छ, तर त्यो केवल आधा काम हो। पूरा तब हुन्छ, जब एम्बुलेन्स सिधै अस्पतालको ढोका सम्म पुग्छ, जब बिरामी बोकेर गोरेटो चढ्नु नपर्ने हुन्छ, जब सडकले मानवताको बोझ बोक्न सक्ने हुन्छ।

स्थानीय सरकार, प्राविधिक निकाय र सरोकारवालाबीचको सहकार्यले अब त्यो सपना पूरा गर्ने बाटो खोल्दैछ।

डोल्पाको यो पुल, केवल संरचना होइन, यो जनताको आँसु, सपना र संघर्षको समर्पण हो।अब याे सपना अस्पतालसम्म पुग्न चाहन्छ।

तपाईको प्रतिक्रिया