ताजा समाचार

दैलेखमा पेट्रोलियम अन्वेषण उपकरण बोकेको ट्रक दुर्घटना

पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार कर्णाली राजमार्गको पालीमा दुर्घटना भएको हो ।

नेपालगञ्ज, सुर्खेत हुँदै कर्णाली राजमार्ग भएर भैरवी गाउँपालिकाको जलजले आयोजनास्थलमा लगिँदै गर्दा दुर्घटना भएको हो । ठूला ट्रक, साँघुरो सडक हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

आयोजना विभागका प्रमुख दिनेश नापितले ठूला उपकरण बोकेका ट्रक दैलेख पुग्न कठिन भएको बताए । ‘साना ट्रकलाई दैलेखको खण्डबाट लगेका छौं तर ठूला ट्रकलाई कर्णाली राजमार्गमै मोड पुग्दैन । मोडैमा समस्या भएको छ,’ उनले भने ।

चिनियाँ सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका लागि पहिलो चरणमा २२ वटा मालवाहक ट्रक भित्रिइसकेका छन्, १ सय २८ वटा ट्रक आउने क्रममा छन् । तर सडक साघुरो हुँदा ती ट्रकहरु अन्वेषणस्थल भैरवी गाउँपालिका–१ जलजले पुग्न समस्या भएको छ ।

दैलेख–सुर्खेत (६७ किमी) सडक अति साघुरो हुँदा आयोजनाले सुर्खेतबाट कर्णाली राजमार्गको सांगेतडासम्म र त्यहाँबाट मध्यपहाडी राजमार्गको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

सुर्खेतबाट आयोजनास्थल जलजले करिब ७५ किमी छ । तर कर्णाली राजमार्ग र मध्यपहाडीको बाटो प्रयोग गर्दा ट्रकलाई ९० किमी पार गर्नुपर्छ । यसले गर्दा समय बढी लाग्नुका साथै सडक सुरक्षाको जोखिम देखिएको छ ।

२०७२ चैतमा नेपाल र चीन बीच पेट्रोलियम पर्दाथ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएसँगै २०७५ माघमा चीन र नेपालबीच परियोजना स्वीकृत गरिएको थियो । उपकरण आयोजना स्थल पुगेसँगै जमिनबाट ४ हजार ५ सय मिटरसम्म गहिराइमा पुगेर अन्वेषण गरिने भएको छ ।

ड्रिलिङको काम सकिएलगत्तै पेट्रोलियम खानीको अवस्था र उत्खनन टुंगो लाग्नेछ । दैलेखका नाभिस्थान, श्रीस्थान, पादुकाका क्षेत्रलाई आधार मानेर ४ सय वर्गकिलोमिटर क्षेत्रफल समेट्ने गरी सर्वेक्षण गरिएको छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!