ताजा समाचार

जिल्लाका सराेकारवालालाई औषधीको उचित प्रयोग र AMR विरुद्ध अभिमुखीकरण

विष्णुप्रसाद देवकोटा

जिल्ला स्वास्थ्य कार्यालय डोल्पाको आयोजनामा औषधीको उचित प्रयोग तथा एन्टिमाइक्रोबियल प्रतिरोध (AMR) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला अस्पताल डोल्पाका मेडिकल अधिकृत डा. अजय प्रसाद पाण्डेले औषधीको सही प्रयोग, राष्ट्रिय नीति, रणनीति तथा नेपालमा औषधीको वर्तमान अवस्था सम्बन्धी जानकारी प्रस्तुत गरे।

कार्यक्रममा सरकारी तथा निजी विद्यालयका शिक्षक, क्याम्पस प्रमुख, स्वास्थ्यकर्मी र मेडिकल व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूलाई पशुपंक्षीमा औषधी प्रयोग गर्दा पर्ने असर, जैविक प्रतिरोधको चुनौती, रोकथाम तथा नियन्त्रण, कानुनी व्यवस्था र सबै पक्षको भूमिकाका बारेमा समेत जानकारी दिइयो।

डा. पाण्डेले डोल्पामा सामान्य सुईप्रति देखिएको अन्धविश्वास र जथाभावी औषधी प्रयोगप्रति सचेत गराउँदै सुरुमै कडा औषधी प्रयोग नगर्न र मानव औषधी पशुमा प्रयोग नगर्न आग्रह गरे। औषधी ऐन २०३५ अनुसार जथाभावी औषधी बिक्री वितरणबाट ज्यान जोखिममा परेमा जन्मकैद वा ११ वर्षसम्मको कैद र जरिवानाको व्यवस्था रहेको जानकारी दिइयो।

बालमन्दिर आधारभूत विद्यालय दुनैकी प्रधानाध्यापक अम्बिका हमाल, दुनै बोर्डिङ स्कुलका प्रिन्सिपल लोकेन्द्र जैसी र डोल्पा क्याम्पस प्रमुख विष्णुलाल बुढाले कार्यक्रमबाट प्राप्त ज्ञान विद्यार्थीहरूमा विस्तार गर्न सहज हुने प्रतिक्रिया दिए।

कार्यक्रम समापनमा स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त स्वास्थ्य व्यवस्थापक डा. सिजन रावलले चिकित्सकको सल्लाविना औषधी प्रयोग नगर्न र सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध हुन आग्रह गरे।

तपाईको प्रतिक्रिया