विष्णुप्रसाद देवकोटा
डोल्पा ।त्रिपुरासुन्दरी नगरपालिकाको १३औं नगरसभाले बन्द सत्रमार्फत आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट अन्ततः पारित गरेको छ। नगरप्रमुख जनचन्द्र रोकाया र उपप्रमुख देवी घर्तीको विशेष पहल र समन्वयमा सम्पन्न बन्द सत्रले नगरको समग्र विकासका लागि मार्गदर्शन गर्ने नीति तथा कार्यक्रम पारित गरेको हो।
यसअघि, २०८१ साल असार १० गते बसेको नगरसभामा नीति, कार्यक्रम तथा बजेट घोषणासमेत गरिएको थियो। तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूले प्रस्तावित बजेटप्रति असहमति जनाउँदै विरोध गरेपछि तत्कालीन समयमा बजेट पारित हुन सकेको थिएन।
पुनः आह्वान गरिएको नगरसभाको बन्द सत्रमा छलफल, परामर्श र राजनीतिक सहमतिकाे माध्यमबाट अन्ततः नीति तथा कार्यक्रम पारित गरिएको हो। नगरपालिकाका अनुसार, ११ वटै वडाहरू र विषयगत शाखाहरूको आवश्यकतालाई ध्यानमा राख्दै प्राथमिकताका आधारमा बजेट बिनियोजन गरिएको छ।
शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन, सामाजिक सुरक्षालगायत क्षेत्रलाई समेट्दै समावेशी र सन्तुलित नीति तथा कार्यक्रम बनाइएको जनाइएको छ।
स्थानीय तहमा समावेशी विकास र जनउत्तरदायी शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यसहित यो नीति तथा कार्यक्रम अगाडि सारिएको नगरपालिकाले जनाएको छ।नगरप्रमुख उपप्रमुखकाे सहकार्यमा सर्वसहमतिमा लामाे समयपछि नगरबासीकाे हितकाे लागि बजेट तथा नीति कार्यक्रम पारित गरिएकाे नेपाली कांग्रेस वडानम्वर -१ का सदस्य ज्ञानबहादुर बुढाले जानकारी दिए ।

डोल्पा न्यूज । ३० असार २०८२, सोमबार २१:०४