‘ईआइए स्वीकृति हुनुको अर्थ पूर्वतयारीको काम सकियो भने जस्तै हो। जेनेरेसन लाइसेन्स लिने प्रक्रिया अन्तिम चरणमा छ। तीन सातामा त्यो पनि प्राप्त गर्दैछौं,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय सापकोटाले भने, ‘हामी पूर्वतयारीका अरु काम पनि सक्नतिर लागेका छौं।’
कम्पनीले विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरिसकेको छ। अहिले फाइनान्सियल क्लोजरका लागि गृहकार्य गरिरहेको सापकोटाले बताए।
उनका अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नेतृत्वमा कन्सोर्टियम फर्म बनाएर ऋण लगानी गर्न लागिएको छ। उक्त फर्ममा नबिल बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), लक्ष्मी सनराइज र एभरेष्ट बैंक रहने छन्।
आयोजना निर्माणका लागि करिब २३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ इक्विटी (सेयर)बाट जुटाइनेछ। एचआईडीसीएलले ४ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएर ऋण स्वीकृत पत्र नै जगदुल्ला जलविद्युत आयोजनालाई दिइसकेको छ।
‘मंसीरभित्र फाइनान्सियल क्लोजर गर्ने गरी काम गरिरहेका छौं। एक खालको समझदारी भइसकेको छ,’ सापकोटाले भने।
आयोजनाको परामर्शदाता प्राधिकरणको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड हो। कम्पनीले बिडिङ डकुमेन्ट तयार पारिसकेको छ। ‘हामी पुसमा ठेक्का निकाल्ने तयारीमा छौं,’ उनले भने, ‘सकेसम्म यही वर्षदेखि निर्माण थाल्ने तयारी छ।’ पहिलो चरणमा हाइड्रोमेकानिकल र दोस्रो चरणमा इलेक्ट्रोमेकानिकलको ठेक्का निकाल्न लागिएको छ।
सापकोटाका अनुसार अहिले साइटसम्म पुग्न पहुँच मार्ग निर्माणको काम चलिरहेको छ। पहुँच मार्ग ५ किलोमिटर निर्माण गर्न बाँकी छ। जसमध्ये डेढ किलोमिटर भीर पर्छ। भीरमा विष्फोटक पदार्थको प्रयोग गरेर बाटो बनाउन लागिएको छ। त्यस्तै ९ वटा बेलिब्रिज निर्माण गर्नुपर्नेछ। ‘पहुँच मार्ग ६ महिनामा बनाइसक्ने गरी ठेक्का लगाइएको छ,’ उनले भने।
प्रस्तावित अर्ध जलाशययुक्त आयोजना डोल्पाको जगदुल्ला र मुडकेचुला गाउँपालिकामा पर्ने जगदुल्ला नदीमा निर्माण हुनेछ। हेडवर्क्स जगदुल्ला गाउँपालिका-१ हुरिकोटमा निर्माण हुनेछ। जगदुल्ला नदीमा २३ मिटर अग्लो बाँध निर्माण गरी ४८.२७६ वर्गमिटर क्षेत्रफलमा ४ लाख ६५ हजार ९७० घनमिटर क्षमताको जलाशय बनाइने छ। ६ घण्टासम्म पिकिङ क्षमताको आयोजनाबाट वार्षिक करिब ६१५.३२ गिगावाट आवर बराबरको ऊर्जा उत्पादन हुनेछ।
आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्ने योजना छ। यस्तो मोडलमा निर्माण कम्पनी बढी जिम्मेवार हुन्छ।
कम्पनीले जगदुल्लासँगै १२० मेगावाटको जगदुल्ला ‘ए’ क्यासकेड जलविद्युत आयोजना समेत निर्माण गर्न लागेको छ। जसको अध्ययन अन्तिम चरणमा पुगेको छ।