डाेल्पान्युज डेक्स
मुस्ताङ, भदौ ३१। डोल्पाको छार्का ताङसोङ गाउँपालिका र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबीच अन्तरपालिका समन्वय बैठक सम्पन्न भएकाे छ ।धार्मिक, सांस्कृतिक, भाषिक, सडक पूर्वाधार, पशुपालन, जडीबुटी तथा पर्यटकीय सम्भावनाबारे
बैठक वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सम्पन्न भएको हो। उक्त बैठकको अध्यक्षता गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले गर्नुभएको थियो। कार्यक्रममा दुवै गाउँपालिकाका पदाधिकारी तथा कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो।
बैठकमा चारवटा प्रमुख एजेन्डामा छलफल तथा निर्णय भएको छ। जसअन्तर्गत छार्का–मुस्ताङ सडक सञ्जाल, पशुपालन र पर्यटन, बसाइ–सराइ र असल अभ्यास आदान–प्रदानका विषयलाई प्राथमिकतामा राखिएको छ।
छार्का–मुस्ताङ सडकलाई स्तरोन्नति गर्दै सहज आवागमनका लागि दुबै गाउँपालिकाले प्रदेश सरकार र संघीय सरकारसँग पहल गर्ने।छार्का ताङसोङ गाउँपालिकाबाट मुस्ताङतर्फ निकासी हुने याक, च्याङ्ग्रा लगायतका पशुपालकका उत्पादनलाई नियमित बजार व्यवस्थापनका लागि प्रमाणसहित निकासी प्रक्रिया सुरु गर्ने।
बसाइ–सराइ तथा कामकाजी सिलसिलामा आउने व्यक्तिहरूको तथ्यांक संकलन गरी स्थानीय तहमार्फत सेवासुविधा र जनजीवन सहज बनाउने।दुबै गाउँपालिकाले गर्ने असल अभ्यास आदान–प्रदानलाई दीर्घकालीन सहकार्यको आधार बनाउन, विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जडीबुटी तथा पशुपालन क्षेत्रको विकासमा संयुक्त कार्ययोजना अघि बढाउने निर्णय भएकाे डाेल्पाकाे छार्काताङसाेङ गाउँपालिकाले जनाएकाे छ ।

डोल्पा न्यूज । ३१ भाद्र २०८२, मंगलवार २३:१६