ताजा समाचार

ब्लड क्यान्सरसँग जुधिरहेका सत्यबहादुर भण्डारीलाई बचाउन सहयोगको अपील

पुर्ण सार्की/ डोल्पा न्युज। तस्बिरमा अधबैंसे उमेर, शिरमा उनीको टोपी, गहुँगोरो वर्ण, मलिन अनुहारमा दुई हात जोडिरहेका अनि अगाडिको पृष्ठभूमिमा औसधि राखेका मान्छे हुन, जुम्लाको गुठिचौर गाउँपालिका -५ का ५१ वर्षीय सत्य बहादुर भण्डारी।

जो अहिले ब्लड क्यान्सरसँग जुधिरहेका छन्। उनी तीन महिनादेखि सिभिल अस्पताल, मीनभवनमा उपचाररत छन्। उनको स्वास्थ्य उपचार गर्न परिवारको आर्थिक अवस्थाले मात्रै नधान्ने देखिएको छ।

उनका छोरा, दिपेन्द्र भण्डारी उपचारका लागि आर्थिक अभावको सामना गरिरहेका छन्। उनले भने, “उपचारको क्रममा हामीसँग भएको रकम सबै खर्च भइसकेको छ। थप रकम आवश्यक देखिएकोले आर्थिक अभाव भएको छ। त्यसैले पनि सहयोगको अपेक्षा गरेको छु।”

उनले बुबाको उपचारमा धेरै रकम खर्च भइसकेको र थप उपचारका लागि आर्थिक समस्या भएको बताउँदै सहयोगको अपिल गरेका छन्।

“सहयोगी मनहरूले साथ दिए, मेरो बुबाले पुनर्जीवन पाउनु हुने थियोे। त्यसैले मैले सबैबाट सहयोगको अपेक्षा गरेको छु,” दिपेन्द्रले भने।

ब्लड क्यान्सर, जसलाई रक्तक्यान्सर पनि भनिन्छ, रगत बनाउने कोषहरूमा सुरू हुने क्यान्सर हो। यसका लक्षणहरूमा थकाइ लाग्ने, रातिमा पसिना आउने, हड्डी दुख्ने, जिउमा राता-निला धब्बा आउने, ज्वरो आइराख्ने, गाँठागुठी आउने आदि समावेश छन्।

रक्तक्यान्सरका विभिन्न प्रकारहरू छन्, केहीको उपचार सरल छ भने केहीको उपचार जटिल हुन्छ। नेपालमा रक्तक्यान्सरको उपचारका लागि आवश्यक सुविधा उपलब्ध भए पनि, उपचार खर्च उच्च हुने भएकाले धेरै परिवारहरू आर्थिक संकटमा पर्छन्।

नेपाल सरकारले क्यान्सरका बिरामीहरूको उपचारमा १ लाख रुपैयाँसम्मको सहयोग उपलब्ध गराउँदै आएको छ। तथापि भण्डारी बचाउन यत्तिले मात्रै नपुग्ने देखिएको छ।

त्यसैले परिवार आर्थिक सहयोग संकलन गर्नुपर्ने अवस्थामा पुगेको छोरा दिपेन्द्रको भनाइ छ।

सहयोग गर्न इच्छुक महानुभावहरूले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडमा रहेको सत्य बहादुर भण्डारीको खाता नं. ०२२०५१२०२८०८१५ मा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरिएको छ। थप जानकारीका लागि दिपेन्द्रको फोन नम्बर ९८४८३५६६५९ मा सम्पर्क गर्न सकिन्छ।

सहयोगी मनहरुको सानो सहयोगले बुबाको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने छोरा दिपेन्द्रको अपेक्षा छ। त्यसैले सहयोगी हातहरुको आवश्यकता खड्किँदै गइरहेको छ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!