ताजा समाचार

नैतिक पतन भएका  ब्यक्ति  हुन रवि लामिछाने: मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीबाट निश्काषन गरेपछि नेता मुकुल ढकालले कडा प्रतिक्रिया दिनु भएकाे छ ।

मंगलबार सामाजिक सञ्जालमार्फत ढकालले भन्नु भयाे, ‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन ।’

‘न्यायिक निकायले क्लवको कारवाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ’, नेता ढकालले भन्नु भयाे ।

‘नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला तर, पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टि गर्दै जानेछ’, नेता ढकालले भन्नु भयाे ।

‘र, अर्को कुरा, सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडका छन्, आफूविरूद्ध आएका प्रमाणलाई कीर्ते भन्दै जनतामा भ्रमछरी राजनीति गरिराखेका छन्’, उहाले भन्नु भयाे ।

‘यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्‍याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र, फेरि पनि नैतिकरूपले पतित रविलाई नैतिकता कै प्रश्न, अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस्, एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन’, नेता ढकालले भन्नु भयाे ।

यसअघि, रास्वपाले निलम्बित महामन्त्री ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । केन्द्रीय समितिको मंगलबारको बैठकले उनलाई हटाएको हो । पार्टीको अनुशासन आयोगले गरेको सिफारिसअनुसार ढकाललाई हटाइएको छ । ढकाललाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा दुईपटकसम्म स्पष्टीकरण सोधिएको थियो ।

ढकालले पार्टी सुदृढीकरणका लागि भन्दै बनाएको प्रतिवेदनमा पार्टी अनुशासन विपरीतका कुराहरू समेटेको, पार्टीका अहित हुने खालका गतिविधि गरेको लगायतका आरोपमा पार्टीले उनलाई यसअघि महामन्त्रीबाट निलम्बन गरेको थियो । निलम्बन गरी उनलाई स्पष्टिकरण सोधिएको थियो ।

ढकालले गरेको समीक्षा यात्राको प्रतिवेदनको स्वामित्व पनि पार्टीले लिएको थिएन । प्रतिवेदन पार्टीमा पेस गरेर छलफल चलाउनु पहिल्यै सार्वजनिक गरेको भन्दै उक्त प्रतिवेदनको स्वामित्व नलिने निर्णय रास्वपाले गरेको थियो ।

ढकालले सभापति लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाउनु भएकाे थियाे । जसमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचनासमेत गरिएको थियो । आफ्ना कुरा भन्न नदिएको भन्दै ढकालले पार्टीको बैठकमै कालो टेप लगाएर विरोध गर्नु भएकाे थियाे। प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले महामन्त्री पदबाट निलम्बन गरिएको थियो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!